धरान : धरान इटहरी सडक खण्ड अन्तर्गतको सेउती खोला दक्षिण क्षेत्रको जङ्गलमा यात्रुवाहक बस र स्कुटर जुध्दा बस पल्टिएको छ । 

धरानबाट इटहरी तर्फ जाँदै गरेको ना ५ ख ६५४६ नम्बरको यात्रुवाहक बस र इटहरीबाट धरान तर्फ आउँदै गरेको को ३६ प १०२७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा बस सडक किनारामा पल्टिन पुगेको थियो । 

सो दुर्घटनामा परि स्कुटर चालक धरान-१३ बस्ने वर्ष ५६ का नहकुल शर्मा गम्भीर घाइते भएका छन् । त्यसै गरी गरी बस पल्टँदा बसमा सवार मोरङको सुन्दरहरैचा नगरपालिका-११ बस्ने वर्ष १६ का सन्दीप चौधरी, सोही स्थान बस्ने वर्ष २० की मञ्जु लम्साल र २५ वर्षीय सङ्गीता भुजेल सामान्य घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

मंगलबार साँझ ५ः५० बजे भएको सो दुर्घटनामा परेका सबै घाइतेको उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

स्कुटर र बस चालक विराटनगर महानगरपालिका-१ बस्ने ४९ वर्षीय चक्र राईलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

Jangalma-durghatana-1