विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्पूर्ण रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारि सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रमबारे आज बिहान सरोकारवालाबिच आयोजित छलफल कार्यक्रममा मन्त्री राईले सो कुरा बताएका हुन् ।

उनले महिलामाथि हुने विभेद विरुद्ध सुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय महिला दिवसलाई व्यापक रूपमा मनाउनु पर्नेमा जोड दिए । मन्त्री यादवले औपचारिकतामा मात्रै नभएर सिर्जनात्मक रूपमा दिवस मनाउनु पर्ने उनले बताए । 

सामाजिक विकास मन्त्रालयले आगामी मार्च ८ का दिन प्रभातफेरि र दीप प्रज्वलन गरी मनाइने निर्णय भएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् । उनले प्रभातफेरि र दीप प्रज्वलनका लागि व्यवस्थापन समिति पनि चयन गरिएको बताइन् ।

उनका अनुसार सबै सामाजिक सङ्घ संस्थाको सहभागितामा प्रहरी ब्यान्ड र प्रदेश १ को संस्कृति झल्कने गरी झाँकी सहित प्रभातफेरि फागुन २४ गते बिहान विराटनगरको देवकोटा चौकबाट सुरु हुने छ । सामाजिक न्याय लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइने महाशाखा प्रमुख बरालले बताइन् ।

छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल लगायत सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।