धरान : धरान-१८ बुद्धचोक स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी महिलासँगै कोठामा बस्ने पुरुषको पहिचान भएको प्रहरीले जनाएको छ। 

बुधवार साँझ ८ बजे सम्म गरिएको खोजतलास तथा अनुसन्धानबाट महिलासँगै होटलमा बस्न आएका ती पुरुषको सम्पूर्ण जानकारी प्रहरीले पाउन सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । प्रहरीले ती पुरुषको बारेमा सम्पूर्ण विवरण पाइसकेको भए पनि को हो भनेर प्रहरीले बताएको छैन । 

डिएसपी कुँवरले भने 'अपराधीको पहिचान भइसक्यो अव प्रहरीले सर्च एण्ड एरेष्ट अप्रेसन सुरु गरेको छ, यो अप्रेसनले अभियुक्तलाई पक्राउ गरी चाडै सार्वजनिक गर्नेछौ । 

केही दिन अघि इटहरी-५ तुलसा टोलमा डेरा गरी बस्ने सुमित्रा तामाङ धरान-१८ स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको १०९ नम्बर कोठामा बसेका थिए । मंगलबार बिहान सुमित्रा तामाङ मृत फेला परेका थिए भने उनको अनुहार र शरीरका अरू भागहरूमा पनि घाउ चोट देखिएको थियो । सँगै बसेका युवा भने फरार भएका थिए । मृतकको छोरा र छोरी आएर सनाखत गरेपछि मृतकको बुधवार पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । 

तामाङसँगै होटलमा बस्न आएका पुरुष होटलबाट फरार रहेको र उनलेनै हत्या गरेको भन्दै मंगलबार देखि नै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, सङ्घीय इकाई प्रहरी कार्यालय धरान र १ नम्बर प्रदेश प्रहरी कार्यालयको आरआईटीको समूहले अनुसन्धान तथा खोज तलास गरिरहेको थियो । बुधवार साँझ सम्ममा फरार ती पुरुषको सम्पूर्ण विवरण सहित पहिचान खुलेको प्रहरीले बताएको हो । 

मृतक सुमित्रा तामाङको स्थायी ठेगाना पाँचथरको मिक्लाजुङ-१ हो भने उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेका छन् । उनी ४-५ वर्ष देखि इटहरी बस्दै आएको बताइएको छ ।