इटहरी : इटहरी उपमहानगरपालिकाको नगर गौरवको सबैभन्दा ठुलो योजना कोल्ड स्टोर सहितको आधुनिक कृषि बजार शिलान्यास गरिएको छ । 

इटहरी वडा नम्बर ९ हाट खोलामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गरे । इटहरी उपमहानगरपाकिाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्ड स्टोर सहितको कृषि बजार निर्माण हुने छ । कृषि बजारमा ६ लाख केजी सामग्री एकै पटक भण्डारण गर्न सकिने कोल्ड स्टोर रहने छ । तरकारी र फलफूलजन्य सामग्रीको विक्री कक्ष,एटिएम सहितको बैङ्क,प्रशासनिक भवन,आवास कक्ष,दुईवटा धर्मकाँटा,१० वटा थोक विक्री कक्ष निर्माण गरिने छ ।

यो वर्ष सङ्घीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको छ । दुई वर्षमा निर्माण सकिने कृषि बजारका लागि कर्मागत बजेट उपलब्ध हुने छ । उपमहानगरपालिकाबाट ५० प्रतिशत सहभागिता रहने छ । यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ । शिलान्यास समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरकापालिकाका प्रमुख द्धारिकलाल चौधरीले उपमहानगरपालिकाका जनप्रतिनिधिको पहल र जनताले गाँस काटेर बुझाएको करबाट इटहरीमा विकास निर्माणले गति लिएको बताए ।

पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठुलो परिवर्तन आएको बताए । इटहरीको विकासमा दलहरू बिच राम्रो सहिष्णुता रहेको प्रमुख चौधरीको भनाई छ । उपप्रमुख लक्ष्मी गौतमले कृषि बजार इटहरीको गहनाको रूपमा रहने बताइन् । कहीँ कतै बेइमानी नगरी,भ्रष्टाचार नगरी इटहरीको पूर्वाधार निर्माणमा उल्लेख्य कार्य भएको उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले कृषि प्रधान देशभएकाले कोल्ड स्टोरको उल्लेख्य महत्त्व हुने बताए  ।

कोल्ड स्टोर र कृषि बजारका कारण रोजगारी अवसर सृजना हुने उनको भनाई छ । वडा नम्बर ९ का वडाध्यक्ष भूपेन्द्र बरालले वडा नम्बर ९ मा भएका विकास निर्माणका कार्यले जनता खुसी रहेको बताए । वडा नम्बर ६ का वडाध्यक्ष दीपक गौतमले इटहरीमा कृषि बजार को आवश्यकता पूरा हुन लागेको भन्दै प्रसन्नता व्यक्त गरे । 

Itahari-Krishi-bazar