धरान : नगर प्रमुखले निर्णय गरी धरान-५ स्थित अधेरी खोलाबाट ढुङ्गा गिटी निकाल्न दिएकोले खोलाको चरम दोहन भइरहेको आरोप लगाउँदै  नेकपा एमाले धरानले उक्त निर्णय प्रति आपत्ति जनाएको छ ।
श्रेष्ठ मोतीदान ज्वाइन्ट भेन्चरलाई अँधेरी खोलाबाट मदन भण्डारी राजमार्ग निर्माणका लागी भनेर ढुङ्गा गिटि निकाल्न दिएको भए पनि कम्पनीले आधा भन्दा बढी गिटी अन्यत्र लैजाने गरेको नेकपा एमाले केन्द्रीय सदस्य तथा धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदीले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन।
नगरप्रमुख स्तरीय निर्णय गरी मेयर तिलक राईले नियम विपरीत खोलाबाट गिटी उठाउन दिएपछि सुरुदेखि नै खोलाको दोहन भइरहेको उनले बताइन् । सम्झौताका सर्तहरू उल्लङ्घन गरेर खोलाको दोहन भइरहँदा पनि धरान उपमहानगरपालिकाले अनुगमन गरेन भनेर सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि आफूले शुक्रवार अधेरी खोला उत्खननको अनुगमन गर्न पुगेको बताइन् ।
अनुगमनको क्रममा खोलाबाट उत्खनन गरिएको ढुङ्गा गिट्टी लिम्वुचौरीमा स्टक गर्नुपर्नेमा त्यहाँ नराखी अन्यत्र लैजाने गरेको पाईएको बताउँदै धरान उपमहानगरपालिकाको आम्दानी खस्किरहेको बेलामा त्यहाँ चरम भ्रष्टाचार भएको उपमेयर भण्डारीले बताइन् । अहिले ज्वाइन्ट भेन्चरले खोला उत्खनन गरेको स्थानमा फेरी दोहोर्‍याएर खोला उत्खनन गरिरहेको उनको भनाइ छ। 
प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको निष्कर्षमा दैनिक २७४.५७ घन मिटर मात्र नदीजन्य पदार्थ सङ्कलन गरिने भनिएको भएपनी अहिले असीमित रूपमा सङ्कलन भइरहेको र २ मिटर गहिराइसम्म मात्रै सङ्कलन गर्ने भनिए पनि दोब्बर भन्दा बढी गहिराइमा सङ्कलन भइरहेको उनको भनाइ छ । यसरी तोकिएको मापदण्ड विपरीत खोला उत्खनन भइरहेको बताउँदै उपमेयर भण्डारीले भनिन्- 'धरान उपमहानगरपालिकाको नगर कार्यपालिकामा निर्णय नै नगरी कसैलाई थाहै नदिई नगर प्रमुख स्तरीय एकल निर्णय गरेर उत्खनन गर्न दिइयो, गएको पुस १८ गते नेकपा एमालेको अधिवेशनमा व्यस्त रहँदा आफूलाई थाहै नदिई नगरप्रमुख स्तरीय निर्णय गरी अधेरी खोला उत्खनन गर्न दिइएको बताउँदै उपमेयर भण्डारीले भनिन् खोलाको दोहनमा चरम भ्रष्टाचार भएको छ।
'ढुङ्गा गिटि बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड-२०७७ मा' आयोजना कार्यालयले आवश्यक परिणाम खुल्ने ब्यहोराको सिफारिस गर्नुपर्छ’ भनिएको छ तर आयोजनाले चिठी लेखेर आवश्यक सहयोग गरिदिनु मात्रै भनेको छ । परिणाम खुल्ने गरी सिफारिस नगरे पनि धरानका मेयर तिलक राई र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको निर्णयबाट ७० हजार घन मिटर ढुङ्गा गिटि उत्खनन गर्न दिइएको उनको भनाइ छ । सोही मापदण्डमा उक्त निर्माण सामाग्री अन्यत्र प्रयोग गर्न नपाइने भनिएको छ  तर आधा भन्दा बढी निर्माण सामाग्री अन्यत्रै लगिएको पाइएको उपमेयर भण्डारीले बताइन् ।
पत्रकार सम्मेलनमा तपाई धरान उपमहानगरपालिकाको उपमेयर हो यस्तो कुरा धरान उपमहानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी गर्नु पर्ने होइन र ? भन्ने प्रश्नमा उपमेयर भण्डारीले आफू प्रतिपक्षी दलको तर्फबाट पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको बताइन् ।
पत्रकार सम्मेलनमा नेकपा एमाले धरान उपमहानगर कमिटीका उपाध्यक्ष पारस काङमाङ राई, एमाले प्रदेश १ कमिटी सदस्य मुरारी सुबेदी, एमालेका धरान उपमहानगरका सह-इन्चार्ज जयन्त गौतम लगायतको उपस्थिति रहेको थियो ।