चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ लाई देशकै पहिलो पूर्ण बिमा युक्त वडा घोषणा गरिएको छ। 

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत नमुना स्थानीय तह घोषणा कार्यविधि २०७८ को परिच्छेद २ को बुँदाको (ख) लाई आधार मानेर स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य बिमा बोर्डका पूर्व कार्यकारी निर्देशक गुणराज लोहनीले शुक्रवार वराहक्षेत्रको नगरपालिकाको वडा नं २ लाई देशकै पहिलो पूर्ण स्वास्थ्य बिमायुक्त वडा घोषणा  गरेका हुन् । 

वडा कार्यालय र चतरा अस्पतालले संयुक्त रूपमा वडालाई स्वास्थ्य बिमा युक्त वडा घोषणा गरिएको हो । वडा कार्यालयको फागुन १० गतेको निर्णय अनुसार वडालाई स्वास्थ्य बिमा युक्त वडा घोषणा गरिएको हो । २०६८ सालको जनगणना अनुसार १७ सय ३१ परिबार ८ हजार २ सय ६ जनसङ्ख्या रहेको वडामा ९५ दशमलव ८५ प्रतिशत अर्थात् ७ हजार ८ सय ६५ ले स्वास्थ्य बिमा गराएका छन् ।

चतरा अस्पतालको प्राङ्गणमा आयोजना भएको उक्त घोषणा कार्यक्रम वडा नं २ का अध्यक्ष समेत रहेका चतरा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराईको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा वडाध्यक्ष भट्टराईले वडाको महत्त्वपूर्ण योजना सफल गर्न पाउँदा खुसी लागेको बताए । उनले निरोगी मान्छे जहाँ पनि सफल हुने भन्दै वडाका नागरिकहरूलाई सहुलियत स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सबै वडावासीलाई बिमीत बनाएको बताए । यसकालागि अस्पतालका डाक्टर, कर्मचारीको महत्त्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य बिमा बोर्डका पूर्व कार्यकारी निर्देशक गुणराज लोहनीले वडालाई पूर्ण बिमा युक्त वडा घोषणा हुनु ऐतिहासिक नमुना कार्य भएको बताए। उनले भन्ने वराहक्षेत्र वडा नं २ देशभरको वडा कालागि अध्ययन गर्न थलो समेत भएको उनले बताए । अस्पतालले दिने सेवाहरूलाई स्वास्थ्य बिमा भनेको स्वास्थ्यको सिस्टम सुधार गर्ने कार्यक्रम हो, यसलाई थप मजबुत र सुधार गर्ने लागि पर्ने बताउँदै उनले नेपालका ६ हजार ७ सय ४२ वराहक्षेत्रको वडा नं २ स्वास्थ्य सेवाको रूपमा नमुना वडा भएको उनले बताएका थिए ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ, नेकपा एमालेका प्रदेश कमिटी सदस्य मनोज पौडेल, नेपाली काँग्रेस वडा नं २ सभापति अमर कटुवाल , माओवादी केन्द्रकी नेतृ दिलु गजमेर, नेकपा एकीकृत समाजवादीका सुनसरी जिल्ला कार्य समिति सदस्य सुरेशमणि नेपाल, जसपा वराहक्षेत्र २ का अध्यक्ष दिपल राई, अस्पतालका पूर्व शिवराज दाहाल, पूर्व सदस्य युवराज बस्नेत सदस्य लगाएले मन्तव्य राखेका थिए । कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष, सदस्यहरू, पूर्व प्रमुखहरू, सहयोगी सङ्घ, संस्था, व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

स्वास्थ्यको पहुँचसम्म पुग्न आर्थिक अवस्था बाधक नबनोस् भनेर बिमालाई प्राथमिकता राखेको सबै वडावासीहरूलाई बिमा गराउने र सबै स्वास्थ्यको पहुँचमा पुगेको सन्देश वडा नं २ बाट देशैभर दिन खोजेको चतरा अस्पतालका व्यवस्थापन डाक्टर अनिल गिरिले बताए । कार्यक्रममै अस्पतालका कर्मचारीद्वय सुकुमाया लिम्बू र  उत्सव खतिवडा नगर १०-१० हजार सहित सम्मान पत्र सहित उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत गरिएको थियो ।

हाल चतरा अस्पतालले  वर्षको ३६५ दिनै सार्वजनिक बिदा र शनिवार समेत 'बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सक द्वारा नि:सुल्क ओपिडी सेवा' र “चिकित्सक द्वारा आकस्मिक सेवा” लगायतका बहिरङ्ग सेवा दिँदै आइ रहेको छ । 

२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, प्रसूति, फिजोयोथेरापी सेवा, हरेक दिन आँखा, कान, दन्त उपचार, हरेक सोमबार र बिहीबार भिडियो एक्स-रे, हरेक दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ, वाड भर्नासँगै सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भइरहेको छ । यस्तो सेवा उपलब्ध गराउने स्वास्थ्य केन्द्र चतरा मात्र रहेको थियो ।