इटहरी : नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले एमसीसी पास गर्नु मुलुककोलागि गौरवको कुरा भएको बताएका छन् । एमसीसी पास गर्न पार्टी महामन्त्री गगन थापाले खेलेको भूमिकाको प्रशंसा गरेका हुन् । 
नेपाली काँग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली काँग्रेस विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै उनले थापाको प्रशंसा गरेका हुन । 
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन पछि विराटनगरमा आयोजना गरिएको पहिलो कार्यक्रममा शीर्ष नेताहरूको उपस्थित जनाएका छन् । महाधिवेशनमा महामन्त्रीमा पराजित रिजालले अब काँग्रेस लाई जोडेर लैजान डाक्टर शेखर कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको बताए । 
डाक्टर कोइरालाकै प्यानलबाट उम्मेदवारी दिएका उनले  काँग्रेस लाई विजयी गराउन लाग्नुपर्ने भनाइ राखे । आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउन डाक्टर शेखरले देखाएको अग्रसरतामा पार्टी सभापति शेरबहादुर देउवाले सहयोग गर्नुपर्ने बताए । 
महाधिवेशन अगाडि सम्म पाको देखिएको काँग्रेस अहिले युवा र ऊर्जावान् पार्टी बनेको उनले धारणा राखे । अहिले ऊर्जाशील युवाले भरिएको काँग्रेस एक भएर अगाडि बढ्नुपर्ने सुझाए। 
'मैले सभापति ज्यू लाई भेटेरै शेखर कोइराला लाई सँगै लिएर जानुपर्ने भनेको छु । पार्टी निर्माण गर्ने क्रममा लाग्नुपर्छ भनेँ । त्यसमा सभापति देउवाले आफूले बुझेको र त्यहीअनुसार अगाडि बढ्ने बताउनुभएको छ',-उनले भने ।