धरान : धरान-१६ स्थित चन्द्र संस्कृत माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सवको अवसरमा दुई वटा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । 

शुक्रवार नवनिर्मित भवनको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. आनन्द प्रसाद आचार्यले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राईले धरानलाई शैक्षिक हबको रूपमा विकास गर्न स्थानीय सरकारले नारा लिएको बताए ।

मेयर राईले शिक्षा क्षेत्रमा धरानका अग्रजहरूले अत्यन्तै ठुलो योगदान, लगानी र मेहनत गर्नुभएको बताए । ‘धरानमा सबै विषयवस्तुहरूको अध्ययन अध्यापन हुने गरिरहेको छ, पछिल्लो कालखण्डमा स्वास्थ्य क्षेत्रमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनापछि धेरै विषयहरूमा अध्ययन अध्यापन हुने गर्दछ, संस्कृत क्याम्पसदेखि स्कुलसम्म, महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय खाद्य प्रविधि क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस लगायत थुप्रै विद्यालयहरू धरानमा स्थापना भएको छ,’ मेयर राईले भने । 

धरानलाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने मेयर राईको भनाई थियो । मेयर राईले चन्द्र संस्कृत विद्यालयमा चन्द्रप्रसाद आचार्यले निर्माण गर्नमा ठुलो योगदान गरेको बताए । 

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. आचार्यले सङ्घ, स्थानीय सरकार र विद्यालयको आन्तरिक श्रोत तथा दाताहरूको सहयोगमा दुई वटा विद्यालय भवन निर्माण गरिएको जानकारी दिए । उनले धरान उपमहानगरपालिकाको  साढे ६ लाख रुपैयाँको सहयोगमा पुस्तकालय भवन पनि निर्माण गर्न सफल भएको बताए । 

५७ औँ वार्षिकोत्सवको अवसरमा पूर्व विद्यार्थी मिलन कार्यक्रम पनि गरिएको थियो । पूर्व विद्यार्थीहरू पनि सहभागी भएका थिए । धरानमा रहेका पूर्व विद्यार्थी नेपाली काँग्रेस धरानका सभापति श्याम पोखरेल र वडा १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले सरस्वती मन्दिर निर्माण गर्नका लागि आर्थिक सहयोग समेत गर्ने घोषणा गरेका थिए ।

मन्दिर निर्माणका लागि पोखरेलले ११ हजार १ सय ११ रुपैयाँ र काफ्लेले २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे । यस्तै, कार्यक्रममा निर्माण व्यवसायी पूर्णबहादुर राई, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुख काजीराम कार्की र उपप्राध्यापक भीषण भुजेल सहित दाताहरूलाई सम्मान गरिएको थियो । उनीहरूलाई मेयर तिलक राईले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।