झापा : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुदको विकासका लागि आफू सदैव लागि पर्ने बताएका छन् । 

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित झापा गोल्ड कपको पाँचौँ संस्करणको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । 

उनले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक् राख्नुपर्ने धारणा समेत राखे । अध्यक्ष ओलीले आफ्नो पार्टी नेकपा (एमाले)ले खेल क्षेत्रको विकासलाई विशेष महत्त्व दिएको बताए । खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको बताएका अध्यक्ष ओलीले झापा गोल्ड कपको सफलताको कामना समेत गरे । 

यसैबिच, शनिवार देखी सुरु भएको झापा गोल्ड कपको पाचौं संस्करणको उद्घाटन खेलमा सातदोबाटो यूथ क्लबले विजयी सुरुवात गरेको छ । 

डोमलाल राजवंशी रङ्गशालामा भएको उद्घाटन खेलमा  जावलाखेल यूथ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै क्वाटर फाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएको थियो ।

खेलमा सुरुवाती अग्रता सातदोबाटोले लिएको थियो । खेलको तेस्रो  मिनेटमा अजयी मार्टिन्सले अग्रता दिलाएका थिए । १२ औ मिनेटमा जुनियरले खेल बराबरीमा ल्याए । ३४ औ मिनेटमा जुनियरले जावलाखेललाई २–१ ले अग्रता दिलाए । दोस्रो हाफको ८ औ मिनेटमा वैकल्पिक  खेलाडी आशिष् राईले गोल गर्दै बराबरीमा ल्याए ।

टाइब्रेकरमा जावलाखेलका राजेन्द्र रावल र  गौरव श्रेष्ठ चुक्दा सातदोबाटोले क्वाटर फाइनलमा स्थान बनायो । राजेन्द्रको प्रहार गोलरक्षक अभिषेक बरालले बचाए । गौरवको प्रहार गोल पोस्ट देखि बाहिरिन पुग्यो । प्रतियोगितामा आइतबार पहिलो क्वाटर फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र सङ्कटा क्लब बिच हुने आयोजकले जनाएको छ ।