धरान : अहिले विश्वमा टिकटकको क्रेज अत्यधिक बढेको पाइन्छ । हाइ प्रोफाइलका देखि सामान्य नागरिक सम्मले टिकटक प्रयोग गरिरहेको छ । टिकटककै माध्यमबाट धेरै जना सेलिव्रेटि समेत बन्न सफल भइसकेका छन् । भने यसैबाट आर्थिक लाभ पनि राम्रै सँग लिइरहेका छन् ।
यसमा नेपाल पनि अछुतो रहेन । प्रविधिको प्रयोग असल र खराब दुवै रूपमा प्रयोग भएको समाजमा पाइएको छ । टाइम पास, रमाइलो सँगै आपराधिक क्रियाकलाप समेतमा प्रविधि प्रयोग भएको पाइन्छ । यसको अपवादको रूपमा कहिले भने यसैलाई प्रयोग गरी राम्रा काम पनि गर्दै आइरहेका छन् ।
प्रविधिलाई सही प्रयोग गरे असहायका लागि, समाजका लागि  केही राम्रो पनि गर्न सकिन्छ भन्ने उदाहरण हालै टिम ए टिकटकर्स ग्रुपले देखाएको छ । टिम ए टिकटर्कस ग्रुप विदेशमा रहेको नेपालीहरूको टिकटक ग्रुप हो । उनीहरूले केही समय अघि मात्र टिकटक लाइभ मार्फत च्यारिटि अभियान चलाएका थिए ।
जसलाई हेरेर देश विदेशमा रहेका टिकटर्कसहरुले आर्थिक सहयोग गरेका छन् । सोही रकम टिम ए टिकटक ग्रुपले धरान पोजेटिभ समूहको मातहतमा रहेको एचआइभी पोजिटिभ तथा प्रभावित बालबालिकाहरूको शिक्षाको लागि हातेमालो अक्षयकोषलाई एक लाख ९ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गर्दै सामाजिक काम गरेका छन् ।
उनीहरूले प्रविधिलाई असल कार्यमा पनि प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् । उनीहरूले सोही दिन उपस्थित एचआइभी सङ्क्रमित बालबालिका र उनीहरूको अभिभावकलाई खाना र खाजा समेत खुवाएका थिए ।
सहयोगका लागि टिम ए टिकटकका सदस्य धरान ११ का पविन राईले संयोजन गरेका थिए ।
पविन राई ब्रिटिस आर्मीमा भर्ती हुने पहिलो नेपाली महिला हुन । उनैको संयोजनमा टिम ए ले अक्षयकोषमा सहयोग गरेका हुन । टिम ए मा नेपाल, युके र युएसका गरी दश जना सदस्यहरू छन् । सदस्यहरूमा पविन राई पवु युके, सानुमाया युके, गीता युके, स्विट सपु युके, माइली राना युके, अन्तिम सोल्टी युएसए, सोनिया राई युके, वर्षा लिम्बु नेपाल र गङ्गा गुरुङ ७३० नेपालबाट रहेका छन् । उनीहरूले टिक टक लाइभमा आएर च्यारिटि अभियान चलाएका थिए ।
धरान-१ स्थित धरान पोजेटिभ समूहको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको थियो । सहयोग रकम सहयोग दाताको तर्फबाट आएका पविन राईका बुवा इन्द्रबहादुर राई, आमा प्रमीला राई, दिदी निलम राई, ग्रुपका नेपाल प्रतिनिधि पवित्र सुनुवार लगायतले संयुक्त रूपमा कार्यक्रमका सभाध्यक्ष धरान पोजेटिभ समूहका कोषाध्यक्ष रोमन कुमार राई, प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र कार्यालय प्रमुख सुजना गोलेको हातमा हस्तान्तरण गरेका थिए ।
धरान रनको सहयोगमा स्थापना भएको अक्षयकोषमा हाल छ लाख ८२ हजार रुपैयाँ रहेको कार्यक्रमका सभाध्यक्ष रोमन कुमार राईले कार्यक्रममा जानकारी गराएका थिए । अक्षय कोषको ब्याजबाट आएको व्याजी रकमले हरेक ६–६ महिनामा सङ्क्रमित तथा प्रभावित बालबालिकाको शिक्षामा सहयोग गदै आइरहेको तर, कोरोना महामारीको समयमा भने विद्यालय बन्द भएको कारण सो समय विपन्न तथा असहाय सङ्क्रमित तथा प्रभावित परिवारलाई खाद्यान्न सहयोगमा व्याजि रकम खर्चिएको राईले बताए ।
कार्यक्रममा सहयोग दाता पविनका दिदी निलम राईले उपस्थितहरूलाई सकारात्मक सोच्न सुझाव दिएका थिए । हामीमा केही न केही समस्या हुन्छ नै , त्यो सँग लड्न पर्छ । सकारात्मक सोच्न पर्छ । मेरो आमा क्यान्सरको बिरामी हुन । उपचार गराएर ठिक भएको छ । बुवा मुटुको बिरामी हुनुहुन्छ । उपचार गराइरहनु भएको छ । म आफै सानोमा टिबीको बिरामी थिए । अहिले ठिक छु । भन्दै उपस्थितिको हौसला बढाएका थिए ।
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि जनकऋषि राईले अक्षयकोष स्थापनाका लागि धरान रन सँग सहकार्य गरेर धरानका पत्रकारहरूले रिक्सा कुदाएर आर्थिक सङ्कलन गरिएको बताए । उनले सहयोगका लागि सहयोग दाताहरूलाई धन्यवाद दिए ।