धरान : धरान-१६ स्थीत सियोन स्कुलको आयोजनामा यही फागुन २४ गते एक दिने सियोन थ्री बाईँ थ्री अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ । 

२४ गते पर्न गएको महिला दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको सियोन स्कुलका प्राचार्य सञ्जीव वान्तावाले कफी पब एण्ड रेष्टोमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा धरान र धरान आसपासका महिला र पुरुष टिमले सहभागिता जनाउने छ । महिला तर्फ आठ टिम र पुरुष तर्फ १५ टिमले सहभागिता जनाउने आयोजकले जानकारी गराए । सहभागी विद्यायलहरुमा आयोजक सियोन सँगै होलिल्याण्ड, समिट, प्रहरी स्कुल, युएन, डिपो, सगरमाथा, तरहरा लगायत रहेको छ । प्रतियोगिताको विजेता टिमले ट्रफि, कफी पब एण्ड रेष्टोको पाँच सय रुपैयाँ बराबरको फुड भौचर, र उपविजेताले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

कोभिड महामारीको कारण दुई वर्ष देखि विद्यार्थीहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव परेको छ । कुनै अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाएका छैनन् । यसैलाई मध्यनजर गर्दै विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष एवं निर्देशक खड्कवहादुर थापा मगरले बताए । यस सँगै विद्यालयले विद्यार्थीहरूका लागि अन्य रचनात्मक क्रियाकलापहरूको आयोजना गरी पहिलेकै जस्तो सहज र सरल अवस्था तयार पार्ने जनाए ।

प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ भने प्रतियोगिताको अघिल्लो दिन २३ गते सोमवार धरानका पत्रकार टिम र सियोन स्कुलका शिक्षक बिच मैत्रीपूर्ण बास्केटबल खेल हुने आयोजकले जनाए । थ्री पोइन्ट कम्पिटिसनका विजेताले नगद एक हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।  

पत्रकार सम्मेलन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन नवीन राई, सियोन स्कुलका खेलकुद संयोजक रोशन राई लगायत अतिथिको रूपमा उपस्थिति रहेको थियो ।