विराटनगर : प्रदेश १ सरकारले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । 

सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरी मार्च ८ अर्थात् फागुन २४ गते मंगलबार मनाइने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

मन्त्रालयका सचिव दीर्घराज मैनालीले मंगलबार बिहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा सामाजिक सङ्घ संस्थाहरूको सहभागितामा विराटनगर देवकोटा चौकमा भेला भएर नेपाल प्रहरीको ब्यान्ड बाजा र सांस्कृतिक झाँकी सहित बृहत् र्‍याली निकालिने बताए ।

उनले र्‍याली जलजला मोडबाट बजार परिक्रमा गरी गोल्छा चौक हुँदै आदर्श माविको मञ्चको कार्यक्रममा सहभागी हुने तयारी गरिएको पत्रकार सम्मेलनमा सचिव मैनालीले जानकारी दिए । र्‍याली पछि बिहान साढे ८ बजेदेखि आदर्श माविको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम राखिएको उनले बताए  । दिउँसो मानव सेवा आश्रममा आश्रितलाई फलफूल वितरण कार्यक्रम गरिने र साँझ साढे ५ बजे विराटनगर ट्राफिक चौकमा दीप प्रज्वलन गरी दिवस समापन गरिने सचिव मैनालीले बताए  ।  

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाईदैछ ।