धरान : सत्र समाज हङकङले धरान-१७ स्थित दिपेन्द्र स्मृति विद्यालयलाई खेलमैदान मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेका छन् । 

आइतबार विद्यालयमा नै पुगेर विद्यालयका प्रधानाध्यापक पर्वत सन्जेललाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरेका थिए । सहयोग रकम धरान सत्र समाज हङकङका सचिव विनोद राई र धरान-१७ न. वडाध्यक्ष मनोज भट्टराईले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

विद्यालयका बालबालिकाहरूलाई खेल्नका लागि खेल मैदान अव्यवस्थित भए पछि सहयोगका लागि वडाध्यक्षले वडाबाट समाजलाई सहयोगका लागि आग्रह गरेका थिए । सोही आग्रह अनुरूप समाजले सहयोग प्रदान गरेको समाजका सचिव विनोद राईले जानकारी गराए । धरान सत्र समाज हङकङमा बस्नु हुने सत्र न. वडा निवासीहरू द्वारा स्थापित संस्था हो ।

समाजले खेलकुद, शिक्षा, स्वास्थ्य एवं विभिन्न गरिब असाहयहरुलाई सहयोग गर्दै आइरहेको छ । संस्थाले संस्थाका सदस्यहरूवाट व्याक्तिगत रूपमा सहयोग रकम सङ्कलन गरी सामाजिक कार्य गर्दै आइरहेको सचिव राईले बताए । लामो समय हङकङ बसाइँ पछि राई घर आएका हुन ।  

समाजले पठाएको रकमले खेलमैदान पुर्णरुपमा मर्मतसंभार गर्न नपुगेमा वाकी रकम आफै व्यवस्थापन गरी मर्मत गर्ने वडाध्यक्ष मनोज भट्टराईले कार्यक्रममा बोल्ने क्रममा बताए । समाजले आफ्नो वडा सँगै सिङ्गो धरान उपमहानगरमा निरन्तर रूपमा निभाएको सामाजिक उत्तरदायित्वको लागि वडाध्यक्ष भट्टराईले धरान सत्र समाज हङकङलाई धन्यवाद दिएका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा गोधुली क्लबका उपाध्यक्ष सतिस केसी, पूर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइली, पूर्व फुटबल खेलाडी गोविन्द राई, समाजका प्रतिनिधि नारद राई लगायतको उपस्थिति रहेको थियो ।