झापा : झापाको कमल गाउँपालिका वडा नम्बर ४ ले वडालाई वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको छ । 

बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सूचक मध्ये वडा नम्बर ४ ले सबै सूचक पुरा गरेपछि सोमबार एक कार्यक्रमका बिच वडालाई पालिकाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो । 

कमल  गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुसी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ २०७८ साल फागुन मसान्त भित्र गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रूपमा घोषणा गर्न हरेक वडाले  प्रतिबद्धता जनाएका थिए ।

सबै सूचक पुरा भएकाले सोमबार वडा नम्बर ४ लाई पालिकाको पहिलो वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । एक कार्यक्रमका बिच गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गरिन । उनले अब चाडै नै अन्य वडाहरुलाईपनि बालमैत्री घोषणा गरेर पालिकालाईनै बालमैत्री बनाउने गाउँपालिकाको योजना रहेको बताइन । 

सबैभन्दा पहिले बालमैत्री घोषणा गर्ने वडालाई गाउँपालिकाको विकास बजेटबाट १० लाख रुपैयाँ समेत प्रदान गरिएको थियो । सो रकम बालबालिकाको वृत्ति विकासमा खर्च गरिने ४ नम्बर वडाका वडाध्यक्ष प्रेमबहादुर राईले जानकारी दिए । 

सो वडामा कुल जनसङ्ख्याको २८ दशमलव १५ प्रतिशत बालबालिका रहेको जानकारी गराउँदै वडाका सचिव पर्शुराम तिम्सिनाले बालमैत्री स्थानीय शासन अवलम्बनको सुरुवाती चरणमा वडामा रहेको अवस्थाको बारेमा जानकारी समेत गराएका थिए ।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले २०७८ सालको फागुन मसान्तसम्ममा गाउँपालिकाका सबै वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य रहेको र सबै वडा बालमैत्री घोषणा भइसकेपछि गाउँपालिका स्वतः बालमैत्री स्थानीय तह हुने उल्लेख गरे । केही प्राविधिक कारणले २,४ दिन ढिला भएपनि यसै वर्ष कमल गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने गाउँपालिकाको लक्ष्य रहेको उनको भनाइ थियो । 

बालमैत्री वडा घोषणा कार्यक्रममा बिहाबारी २० वर्ष पारी भन्ने सन्देश सहितको नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सुरु हुनु अघि विभिन्न विद्यालयका बिद्यार्थीहरु र्‍याली सहित कार्यक्रम स्थलमा आएका थिए । वडाध्यक्ष प्रेमबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले रहेकी थिइन् ।