विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दु:खद भएको बताएका छन् । गर्भावस्थामै पुरुष छ की महिला भनेर भ्रूण हत्या गर्ने काम अहिले पनि भइरहेको मुख्यमन्त्री राईले बताए । 

११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । मुख्यमन्त्री राईले भने,‘ महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भइरहेको छ ।’ उनले सम्पत्तिको अधिकारबाट महिलाहरू अझै पनि बञ्चितिकरणमा परेको बताए  । महिलाहरूलाई पुरुष सरह बराबरीको अवस्थामा पुर्याउन आवश्यक भएकोमा उनले जोड दिए । उनले भने,‘ ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन हटाएर महिलाहरूलाई पुरुष सरह बनाउनु पर्छ ।’ 

स्वास्थ्य मन्त्री जयराम यादवले महिलाहरूले आफ्नो अधिकार मागेर प्राप्त गर्न नसके खोसेर भए पनि लिनुपर्ने बताए । उपसभामुख सरस्वती पोखरेलले संविधान कानुन महिला मैत्री भएको बताइन् । संविधान, कानुन महिला मैत्री हुँदा पनि समाज महिला मैत्री हुन नसकेको उनले बताइन् । समाजको व्यवहार महिलामैत्री नहुँदा महिला हिंसाका घटनामा कमी आउन नसकेको उनको भनाई छ । 

सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले महिलामाथि हुने विभेद अन्त्यका लागि महिला मैत्री समाज निर्माणका लागि लाग्नु पर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव कृष्णप्रसाद पोखरेल, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरे । 

यसअघि विराटनगरको देवकोटा चौकबाट प्रभातफेरी निकालिएको थियो । प्रहरी ब्याण्डवाजा र सांस्कृतिक झाँकी सहित र्‍याली निकालिएको थियो । र्‍याली जलजला मोड हुँदै बजार परिक्रमा गरी आदर्श विद्यालयमा आयोजना गरिएको मञ्चको कार्यक्रममा सहभागी भएको थियो । 

यसैबिच आदर्श विद्यालयमै आयोजना गरिएको खुल्ला रक्तदानमा १७ पिन्ट रगत सङ्कलन भएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन । उनका अनुसार रक्तदान कार्यक्रममा १२ महिला सहित १७ जनाले रक्तदान गरेका थिए । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगर स्थित मानव सेवा आश्रममा आश्रितहरूलाई फलफूल वितरण गरिएको थियो । 

Mosd-1Mosd-4Mosd-2