विराटनगर : मोरङको रङ्गेलीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज वृहद जनसभाको आयोजना गर्दैछ । 

जनसभालाई एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने  एमाले मोरङका सचिव रूपेश खतिवडाले बताए । जनसभामा २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित बनेका मेयर दिलीप बगडिया लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ। 

स्रोतका अनुसार उद्योगी व्यवसायीको पहिचान बनाएका मेयर बगडिया माओवादी छाडेर एमाले प्रवेश गर्न लागेका हुन् । बगडिया लगायतका केही जनप्रतिनिधि र अन्य पार्टी परित्याग गरेकाहरूलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको सचिव खतिवडाले बताए । 

यसैबिच एमालेको जनसभालाई लक्षित गरेर रंगेलीको सुरक्षा व्यवस्था कडा पारिएको छ । जनसभास्थल र वरपर ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी जनार्दन जिसी लगायतका सुरक्षा अधिकारीले हिजो साँझ जनसभा आयोजना स्थलको निरीक्षण गर्दै शान्ति सुरक्षाको अवस्थाका बारेमा जानकारी लिएका थिए । प्रजिअ दाहालले कुनै कमजोरी हुन नदिने हिसाबमा सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए ।