धरान : इटहरीका जनप्रतिनिधिले गरेका कामको परिणाम धमाधम देखिन थालेको छ ।  

मंगलबार र बुधवार दुई दिनमा पाँच वटा कालोपत्रे सडक उद्घाटन गरिएको छ । वहुवर्षे योजना अन्तर्गतका सडकहरूको उद्घाटन गरिने क्रम जारी छ । बुधवार पूर्व मुख्यमन्त्री तथा प्रदेश नम्बर १ एमाले संसदीय दलका नेता भीम आर्चायले १४१ वर्ष सम्म बाँचेका नेपालकै ज्येष्ठ नागरिक वीर नारायण माझीको स्मृतिमा इटहरी उपमहानगरपालिकाले निर्माण गरेको वडा नम्बर १० र ११ जोडने वीरनारायण माझी मार्ग उद्घाटन गरे ।

बुधवार नै वडा नम्बर १० टावर देखि आमझोकी सम्मको करिब आठ किलोमिटर सडक उद्घाटन भयो ।  मंगलबार पूर्व मुख्यमन्त्री आर्चायले वडा नम्बर १८ वडहरा देखि वडा नम्बर २० को तरहरा जोडने सडक ६Þ.१ किलोमिटर सडक, वडा नम्बर १७ को व्रम्हपुरदेखि वडा नम्बर १९ मझौरा सम्मको ३.८२ किलोमिटर सडक र वडा नम्बर १ र ५ जोडने १.२ नमुना सडकको उद्घाटन भएको छ ।  

प्रमुख अतिथि आर्चायले इटहरीले बाटो घाटो लगायत भौतिक पूर्वाधारमा राम्रै फकडो मारेको बताए । उनले द्धारिकलाल चौधरी नेतृत्वको इटहरीको जनप्रतिनिधिले विकास निर्माणमा गरेका कार्यको प्रशंसा गरे । कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद लिलम बस्नेतले इटहरीले पाँच वर्षमा विकासले छलाङ्ग मारेको पाएको बताए ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले एक वर्षको बजेटले मात्र काम नहुने देखेर गाउँ गाउँका जनतासँग छलफल गरेर तीन वर्षको बजेट जोहो गरी वहुवर्षे सडक निर्माण गरिएको जानकारी दिए  । ४२ किलोमिटर बाहिरी चक्रपथ निर्माणका लागि पहल गरिदिन पूर्व मुख्यमन्त्री आर्चायसँग आग्रह गरे । मंगलबार भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षमा जनताको आधारभूत तहको आवश्यकता सम्बोधन गर्ने गरी विकास गरिएको बताइन् ।

उनले जनताको अनुहारमा खुसीयाली ल्याउँछौ भनेर गरिएको प्रतिबद्धता पूरा भएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले गाउँ गाउँमा वनेका सडकले जनताको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गरे । छुट्टाछुट्टै पाँच ठाउँमा भएका उद्घाटन कार्यक्रममा इटहरीका वडाध्यक्षहरू प्रकाश चौधरी,रुपेश चौधरी, रामकुमार चौधरी श्री नारायण चौधरी,कल्याण कार्की, मणिराम श्रेष्ठ,कार्यवाहक वडाध्यक्ष निश्चल पोखरेल लगायतले गाउँ गाउँमा सडक पुगेपछि जनताले उपमहानगरवासी भएको अनुभूत गर्न पाएको बताएका थिए ।