धरान : अन्तर विद्यालय थ्री बाइ थ्री सियोन बास्केटबल प्रतियोगिताको महिला पुरुष दुवै तर्फको उपाधि होलिल्याण्ड स्कुलले जितेको छ।

सियोन स्कुलको आयोजनामा मङ्गलवार सम्पन्न एक दिने प्रतियोगितामा होलिल्याण्ड स्कुलले पुरुष तर्फ युएनलाई १०-४ र महिला तर्फ आयोजक सियोन स्कुललाई ११-० अङ्कको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजेता तथा उपविजेताले ट्रफि, कफी पब एण्ड रेष्टोको पाच सय रुपैयाँ बराबरको फुड भौचर, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै गरी प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुष र महिला तर्फ नै होलिल्याण्ड स्कुलका युडि लिम्बु र इच्छा लावती घोषित भए । यसै गरी उदयीमान खेलाडी आयोजक सियोन स्कुलका गौरव गुरुङ र इनु लिम्बु घोषित भए । उनीहरूले ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । पुरस्कृत खेलाडीहरूलाई सियोन स्कुलका अध्यक्ष खड्कवहादुर मगर, प्राचार्य सञ्जीव वान्तावा, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, महिला बास्केटबलका राष्ट्रिय खेलाडी डा. आशा राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

सोही दिन प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत आयोजना गरिएको थियो । थ्री पोइन्ट कम्पिटिसनमा ५ बास्केट गर्दै डिपो स्कुलका रिदम लिम्बूले उपाधि जितेका थिए । उनले ट्रफी, पाच सय रुपैयाँ बराबरको कफी पब एन्ड रेष्टोको फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा धरान र तरहराका गरी पुरुष तर्फ नौ र महिला तर्फ सात टिमले सहभागिता जनाएको थियो । सहभागी विद्यालयहरूमा आयोजक सियोन स्कुल, होलिल्याण्ड स्कुल, युएन, डिपो, समिट स्कुल, हिमशिखर तरहरा र केके इन्टरनेसशल स्कुल रहेका थिए ।

बिहान देखि साँझ सम्म सम्पन्न एक दिने प्रतियोगिताको प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई रहेका थिए । धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, प्रेस सेन्टर नेपालका प्रदेश १ सदस्य सञ्जय याक्खा लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका सम्पूर्ण खेल धरान १६ स्थित सियोन स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएका थिए ।