धरान : सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अवैध औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा  सुनसरीको वराहक्षेत्र नगरपालिका– ८ सालवन्दी–२ का २१ वर्षीय अर्जुन कार्की , सालबन्दी–६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान १५ मिलन चोकका–१९ वर्षीय अमन गुरुङ रहेका छन् । 

कार्की र श्रेष्ठलाई बुधवार  प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले सालबन्दी भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र १–०२ ००३ ह ३६३७ नम्बरको अटो  चेक जाँच गर्ने क्रममा उक्त अटोमा लुकाई छिपाई ल्याउँदै गरेको ट्रामाडोल  १७८० क्याप्सुल र स्पास्मोप्रोक्सिभोन १६  क्याप्सुल सहित पक्राउ गरेको हो । 

यसै गरी यता धरान स्थित अस्थायी प्रहरी पोस्ट श्यामचोकबाट खटिएको प्रहरी टोलीले  गुरुङलाई ३,४०० ट्याब्लेट ट्रामाडोल र ३,४०० ट्याब्लेट स्पास्पेन सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।