झापा : झापामा मोटरसाइकल चोरीमा संलग्न रहेका १ जना भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी झापाले पक्राउ गरी सार्वजनिक गरेको छ । 
पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका७ का २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराव, २२ वर्षीय दिनेश राजवंशी, भद्रपुर नगरपालिका १ का ३०  वर्षीय बिर्ख लिम्बु र भारत किसनगंजका १९ वर्षीय मोहम्मद समिम रहेका छन् ।  
झापा जिल्लाका  विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरीको घटना भएको भनी सवारी धनीहरूको लिखित निवेदन परेसँगै चोरी गर्ने व्यक्तिहरूको सूक्ष्म रूपले निगरानी तथा पहिचान गर्दे क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा निजलाई पक्राउ गरिएको थियो । 
उनै सहनीले दिएको बयानका आधारमा चोरीमा संलग्न अन्य ५ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
मानिस पक्राउ परेसँगै उनीहरूले विभिन्न समयमा विभिन्न स्थानबाट चोरी गरेका ७ थान मोटरसाइकल समेत बरामद भएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।