धरान : प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, पिण्डेश्वर विद्यापीठ एकाइ समितिको साधारण सभाद्वारा डा.महानन्द तिमिल्सिनाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।
 पाँच सदस्यीय समितिको सचिवमा उपप्राध्यापक सोमनाथ रेग्मी, कोषाध्यक्षमा सहप्राध्यापक अम्बरराज ढकाल र सदस्यहरूमा सहप्राध्यापक कृष्णप्रसाद कोइराला र उपप्राध्यापक जङ्गबहादुर भट्टराई रहेका छन् । अधिवेशनमा प्रा.डा.भरतप्रसाद भट्टराई, प्रा.डा. चन्द्रमणि नेपाल र उप.प्रा.कृष्णप्रसाद शर्माले निर्वाचन समितिमा रही सहजीकरण गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष डा. भवानी शङ्कर भट्टराईले नवनिर्वाचित अध्यक्षलगायत सम्पूर्ण निर्वाचित टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै यो टिम रचनात्मक, विद्यापीठको उन्नयनमा आधारित, पेसागत हकहितमा समर्पित र विश्वविद्यालयको सर्वतोमुखी विकासमा केन्द्रित हुन सकोस् भनी शुभकामना  व्यक्त गरे । 
नेपालका विभिन्न विश्वविद्यालयमा कार्यरत प्रजातान्त्रिक शैक्षिक आदर्शप्रति समर्पित प्राध्यापकहरूलाई एकताको सूत्रमा आबद्ध गरी पेसागत हकहितका लागि अझ बढी सचेत रहन एवम् राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श तथा न्यायपूर्ण समाज निर्माणको उद्देश्यले वि.सं.२०६३ को विधानबमोजिम प्रजातन्त्रवादी प्राध्यापक सङ्घको स्थापना भएको  र यसै सङ्घको मातहतमा रही प्रजातन्त्रवादी प्राध्यापक सङ्घ पिण्डेश्वर विद्यापीठ एकाइ पनि क्रियाशील रहेको कुरा नवनिर्वाचित अध्यक्ष डा.तिमिल्सिनाले बताए ।