झापा : झापा जिल्लाको मेचीनगर नगरपालिका-५ पिपलडाँडा चौकको बाझो खेतमा फाल्गुन २५ गते मृत फेला परेकी स्थानीय ६८ वर्षीय अम्बिका कुँवरको हत्याको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
फाल्गुन २५ गते बेलुकी ४ बजे  घाँस काट्न गएकी कुँवर साँझ सम्म घर फर्केर नआए पछि उनका श्रीमान् जगत कुवरले खोजतलास गर्दै जाँदा घर देखि २०० मिटर टाढा रहेको बाँझो खेतमा राती पौने ८ बजे मृत अम्बिकाको शव फेला परेको थियो । घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र  सङ्घीय प्रहरी इकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन भई घटनाको अनुसन्धानको क्रममा मेचीनगर ५ का २७ वर्षीय रण बहादुर बस्नेतलाई अनुसन्धानका लागी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। 
मृतकको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागी स्वास्थ्य विधि विज्ञान प्रयोगशाला धरान सुनसरी पठाइएको र पक्राउ परेका बस्नेतको सम्मानित झापा जिल्ला अदालतबाट  ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।