धरान : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पछिल्लो समय आफ्नो समूहले एमाले त्यागेको बारेमा राम्राले राम्रा र नराम्राले नराम्रै कुरा गर्ने गरेको बताए । 

समाजवादी प्रेस सङ्गठनले शुक्रबार बिहान धरानको छाता चौक स्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विभिन्न आरोप प्रत्यारोप लगाएको तर्फ इङ्गित गर्दै नेपालले भने-'फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार ...। नेकपा एकीकृत समाजवादी देश र जनताका हितका खातिर, समाजको अग्रगति र परिवर्तनका खातिर, कम्युनिस्ट आन्दोलनलाई जोगाउनका लागि हरतरह लागि रहेको छ।' 

धरानमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमका लागि धरान आइपुगेका अध्यक्ष नेपालले कार्यक्रम अघि आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं. १ को नामकरण के हुनुपर्ला भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी राख्न सुझाव दिएकैमा आफ्नो पनि समर्थन रहेको बताए । केही दिन अघि झापा आउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी सभ्यतासँग जोड्दै कोशी राख्नुपर्ने सुझाव दिएका थिए ।   

अध्यक्ष नेपालले पनि प्रदेश १ को नाम कोशीनै राख्नुपर्ने आफ्नो धारणा राखे । प्रदेश १ को नाम जातीय हुनु नहुने भन्दै अध्यक्ष नेपालले भने सबैको सर्वस्वीकार्य हुने र सबैले मान्य हुने कोशीनै उत्तम रहेको पनि बताए । अध्यक्ष नेपालले आफूलाई सगरमाथा पक्षधरहरूले प्रदेश १ को नाम सगरमाथा जोडिदिनुस् भन्दै आग्रह गरेको पनि बताए । उनले आफूहरू सबै जातजातिको भूमिकालाई सम्मान गर्ने, भाषा र संस्कृतिको सम्मान गर्ने तर देशलाई जातीय द्धन्दमा लैजान नदिने भन्दै कोशी नाम नै सही भएको तर्क गरे । 

विभिन्न पार्टी परित्याग गरी ४११ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश

यसैबिच आज धरानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय खम्बुवान् पार्टीबाट नेकपा एकीकृत समाजवादीमा २ सय ८८ जना र  धरान १७,११,१३,१५ का नेपाली काँग्रेस, नेकपा एमाले र स्वतन्त्र गरी जम्मा १ सय २३ जना गरी जम्मा ४ सय ११ जना प्रवेश गरेको समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य आनन्द श्रेष्ठले जानकारी दिए । 

पार्टी प्रवेश गरेकाहरूलाई अध्यक्ष माधव कुमार नेपाल,मुख्यमन्त्री राजेन्द्र कुमार राई लगायतका नेताहरूले  अबिर  टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए ।