धरान : अव स्वास्थ्य संस्थाहरूमा अप्रेसन गर्न जाने बिरामीले अनिवार्य पिसिआर परीक्षण नगराउन स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । 

स्वास्थ्य मन्त्रालयले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिडको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको हो ।

अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएको र पूर्ण खोप लगाएकाहरूलाई पीसीआर टेस्ट गर्नु नपर्ने मन्त्रालयले जनाएको छ । यसअघि अस्पताल भर्ना हुँदा र अपरेसन लगायतका उपचार गर्नुपर्दा पीसीआर अनिवार्य गरिएको थियो ।

मन्त्रालयका अनुसार १५ लाखभन्दा धेरैले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाइसकेका छन् । पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रूपमा बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह पनि गरेको छ । अहिलेसम्म कुल जनसङ्ख्याको ६३ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

Swathya-mantralaya-Pressbig