इटहरी : मोरङको सुन्दरहरैँचा-७ कि १८ महिनाकी बालीकाको हत्या भएको छ । घर नजिकै अचेत अवस्थामा भेटिएकी बालीकाको उपचारको क्रममा मृत्यु भएको हो । गछिया खोला किनारको झाडीमा भेटिएकी बालीकालाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालीकाको बलात्कार पछि हत्या भएको हुनसक्ने देखिएको छ । उपचार गर्न लैजाने क्रममा बालीकालाई रक्तस्राव भइरहेकाले बलात्कारको अनुमान गरिएको हो। 
वडा नम्बर ७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार बालीकाको मृत्यु असामान्य देखिएकाले गम्भीर अनुसन्धान जरुरी रहेको छ। आफूहरूले प्रहरीसँगको सहकार्यमा शवलाई थप अनुसन्धानको लागी फोरेन्सिक ल्याब टेस्टको लागी पठाएको उनले बताए । रिपोर्ट आएपछि थप कारबाही प्रक्रिया अगाडी बढाइने उनको भनाई छ। 
उता स्थानीयले शनिवार न्यायको माग गर्दै प्रहरी चौकी गछियामा नाराबाजी गरेका थिए । स्थानीयको भेलाले सत्य तथ्य छानबिन गर्न र दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरूले समिति नै बनाएर पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग राखेका छन्। 
 इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालले शङ्कास्पद ३ जनालाई नियन्त्रणमा लिइएको बताए । माथिको आदेश अनुसार नै अनुसन्धानको दायरा फराकिलो पारिएको उनको भनाई छ।