धरान : धरानमा केही समय देखि बिहान बेलुका बिजुली झ्याप्प झ्याप्प जाने समस्या देखिँदै आएको छ। 

यसरी विना सूचना बिजुली जानुले धरानमा फेरि लोडसेडिङ हुन लागेको हो की भन्ने सर्वसाधारणको अड्कलबाजी सुरु भएको छ । सुख्खायाम सँगै धरानमा खानेपानीले हाहाकार भइरहेको बेलामा फेरि बिजुली पनि छिन छिनमा जाँदा धरानवासीले विगतमा सुख्खायाममा हुने लामो लोडसेडिङ सम्झन पुग्छन् । 

धरानमा साँझ र बिहान बिजुली काटिनुको कारण अहिले मोरङको बेलवारी क्षेत्रको विद्युतको काम भइरहेकोले धरानमा केही समय देखि यस्तो समस्या देखिएको नेपाल विद्युत प्राधिकरण दुहबी ग्रिडका ब्रान्च मेनेजर राजेश रेग्मीले बताए । दुहबी देखि खनार सम्म बेलबारी जाने बिद्युतको तारमा कम विद्युत भार मात्रै थाम्ने तार भएकोले त्यसलाई ट्वीनीङ गर्ने कार्य भइरहेकोले साँझ र बिहान ४-५ मिनेट धरानमा बिजुली काटिने समस्या भएको रेग्मीको भनाई छ। 

दुहबी ग्रिड देखि खनार सम्म ८ किलोमिटर क्षेत्रमा बेलबारी जाने बिजुलीको तारको मर्मत अर्थात् ट्वीनीङ गर्ने कार्य भइरहेको र अहिले सम्म आधा ४ किलोमिटर क्षेत्रमा काम सकिएकोले अव हप्ता दिन भित्रमा सबै काम सकिने नेपाल विद्युत प्राधिकरण बेलबारी वितरण केन्द्रका प्रमुख दीपक सापकोटाले बताए । काम सके पछि धरानमा बिजुली अवरोध नहुने उनले बताए । 

अव बर्खायाममा पनि धरानमा बिजुली अवरुद्ध नहुने 

धरानमा ठुलो पानी पर्‍यो र हावा हुरी चल्यो भने विद्युत अवरुद्ध हुने गरेको छ।

यसो हुनुको मुख्य कारण धरान आउने ३३ केभीको विद्युत प्रसारण लाइनमा हावा हुरी आउँदा रुख लडेर कि त बाढीका कारण विद्युत अवरुद्ध हुँदै आएको थियो । तर अव २-३ महिना पछि भने यो समस्या नहुने नेपाल विद्युत प्राधिकरण दुहबी ग्रिडका ब्रान्च मेनेजर राजेश रेग्मीले बताए । कोशी कोरिडोरको २२० केभी प्रसारण लाइन सुचारु भए पछि धरानमा यो समस्या हट्ने रेग्मीको भनाई छ।