धरान : संयुक्त बजार अनुगमन टोलीले धरान बजारमा सोमबार बजार अनुगमन गरेको छ । 

बजार अनुगमनको क्रममा म्याद गुज्रेका, उत्पादन मिति उल्लेख नभएका र कम तौल भएका सामाग्री बजारमा फेला परेका थिए । घरेलु कार्यालय इटहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवा, उपभोक्ता मञ्च, धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय धरान र सन्चाकर्मीहरूको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । 

बजार अनुगमनको क्रममा धरानको छाताचौक आसपासका पसलहरूमा उत्पादन मिति उल्लेख नभएको सुरज पापड फेला परेको थियो । पापडमा उत्पादन मिति उल्लेख नहुनुका साथै बिल विजक पनि नपाइएकाले पापड नष्ट गरिएको छ । यसै गरी उपभोक्तालाई बेच्न राखेको कम तौलका सामाग्री पनि फेला परेको  धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए । 

विगतमा चाड पर्वको मुखमा विशेष गरी दसैँ तिहारमा मात्रै बजार अनुगमन हुँदै आएकोमा यस पटक उपभोक्ताले बजार अनुगमन गर्न अनुरोध गरेकोले सोमबार धरान बजारको अनुगमन गरिएको बताइएको छ । बजार अनुगमनमा विशेष गरी भारतबाट भन्सार छलेर ल्याएको सामाग्रीको विल विजक नभेटिएको र तौलिएर राखिएको सामाग्रीहरूमा कम तौल पाईएको थियो । 

बजार अनुगमनमा सुनसरी उद्योग वाणिज्य सङ्घको पनि प्रतिनिधि सहभागी भएको भए पनि सोमबार भएको बजार अनुगमन प्रक्रियागत नभएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले बताए । 

विगतमा बजार अनुगमन गर्दा पहिले छलफल  गरेर कसरी बजार अनुगमन गर्ने भनेर प्रक्रियागत हुने गर्दथ्यो । तर यस पटक त्यसो भएन, उनले भने पसलबाट जफत गरिएको सामाग्री मुचुल्का नै नउठाई नष्ट गरियो । यसले व्यापारी मर्कामा परेको अध्यक्ष सापकोटाले बताए । यो विषयमा भने धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले मुचुल्का उठाएको र सबै प्रक्रिया पुरा गरेर नै सामाग्री नष्ट गरिएको बताएका छन् । 

धरान बजारमा पछिल्लो समय उपभोक्तालाई नराम्रो गरी ठगिने क्रम बढेको भन्दै जनगुनासो आइरहेकोले धरान बजारको अनुगमन गरिएको हो । बजारमा म्याद गुज्रेका, उत्पादन मिति उल्लेख नभएका र भन्सार छली गरेर ल्याएको सामाग्री महँगोमा बिक्री गरिने र विलविजक नहुने पाइएकोले अव धरान उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने अधिकृत सापकोटाले बताए । 

Bazar-Anugaman-2Bazar-Anugaman-3