धरान : धरानमा सम्पन्न किरात राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मेलनले  नयाँ नेतृत्वको चयन गर्दै ६ बुँदे धरान घोषणा पत्र जारी गरेको छ ।

धरानमा फागुन २८ देखि ३० गतेसम्म भएको सम्मेलनले युवराज राईको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा नरबहादुर राई, जयराम राई र भगवती चाम्लिङ राई चयन भएका छन् भने महासचिवमा जितकुमार राई, सचिवमा सयन्द्र राई र भूपेन्द्र राई, कोषाध्यक्षमा राकेश राई, सह कोषाध्यक्षमा एलिना राई र सुनिता राई चयन भएका छन् ।सम्मेलन पछि आज धरानमा एक पत्रकार सम्मेलनको आयोजना गरी ६ बुँदे धरान घोषणा पत्र जारी गरेको छ । धरान घोषणा पत्रमा पहिलो बुँदामानै प्रदेश १ लाई किरात प्रदेश नामकरण गर्न माग गरिएको छ । 

किरात जातिको नाम नभएर नेपालको आदिम सभ्यताको नाम हो जसको जगमा नेपाली सभ्यता उभिएको उल्लेख गर्दै किरात सभ्यताको विरासत पूर्वी नेपालको प्रदेश नं. १ मा जीवन्त रहेकोले प्रदेश १ लाई किरात प्रदेश नामकरण गर्न गर्न आधार प्रस्तुत गरेको छ । यसैगरी नेपालका सबै मातृभाषा ’नेपाली भाषा भएकोले चाम्लिङ भाषालाई पनि नेपाली भाषा भनिनुपर्ने, चाम्लिङ भाषालाई प्रादेशिक कामकाजको भाषा घोषणा गरिनुपर्ने, चाम्लिङ भाषालाई स्थानीय तहको कामकाजको भाषा घोषणा खोटाङको ’हलेसी तुवाचुङ नगरपालिकाले गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै अन्य स्थानीय तहमा पनि स्थानीय तहको कामकाजको भाषा घोषणा गर्न माग घोषणा पत्रमा गरिएको छ । 

चाम्लिङ भाषी बसोबास गर्ने सम्पूर्ण विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन गरिनुपर्ने,चाम्लिङ भाषा पठनपाठन भइरहेका विद्यालयहरूमा दरबन्दी कायम गरी शिक्षक व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।चाम्लिङ भाषामा अब माध्यमिक तहको पनि पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गरिनुपर्ने,सरकारले अविलम्ब किरात विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्नुपर्ने र बालबालिकाहरूको नाम मातृभाषामा राख्न तथा लोप भएका चाम्लिङ भाषाका स्थान नाम पुनर्जीवित गर्न आह्वान गरिएको छ  ।

मातृभाषा संरक्षण तथा विकासका लागि बोलचाल गर्न तथा सिक्न आह्वान गर्ने, चाम्लिङ भाषासम्बन्धी नियमित रूपमा प्रशिक्षण, कक्षा सञ्चालन तथा भाषा सम्मेलन गरिने छ । चाम्लिङ भाषामा धेरै मिडिया (छापा, इलेकट्रोनिक आदि) सञ्चालन, पुस्तक लेखन तथा प्रकाशन गर्न आह्वान राष्ट्रिय सम्मेलनको घोषणा पत्रमा गरिएको छ ।  किरात सिरिजङ्गा लिपिमा चाम्लिङ भाषाको पाठ्यपुस्तक निर्माण गरिने छ । चाम्लिङ राईसँग सम्बन्धित ऐतिहासिक स्थल संरक्षण र सम्र्वद्धन  गरिने घोषणा पत्रमा उल्लेख छ । 

किरात राईहरूको पवित्र सांस्कृतिक सामग्री वाबु (चिन्डो) को प्रयोगमा दुरुपयोग पनि हुन थालेकोले वाबुको पवित्रता कायम गर्दै सांस्कृतिक प्रतीकका रूपमा प्रयोग गर्दा घरको धुरीमा राख्ने तथा पहिरनहरूमा प्रयोग गर्दा छाती भन्दा माथि मात्र प्रयोग गर्न गराउने आह्वान गरिएको छ । लोपोन्मुख अवस्थामा पुग्न लागेको चाम्लिङ राईहरूको मौखिक ज्ञान मुन्दुम संरक्षण गर्नका लागि मोपा, खातवा नाछुङ (धामी) हरूलाई स्थानीय तहहरूले सांस्कृतिक अथवा संरक्षण भत्ताको व्यवस्था गर्न माग गरिएको छ ।

चाम्लिङ राईहरूलाई बृहत् र प्रभावकारी रूपमा सङ्गठित गर्न यो पाँचौँ राष्ट्रिय सम्मेलनले पाछागत आधारमा संस्था (किरात राई चाम्लिङ.पाछाको नाम खाम्बातिम) गठन गरी किरात राई चाम्लिङ खाम्बातिममा आबद्ध हुन आह्वान पनि गरेको छ ।