धरान : धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदीमा एक महिला मृत फेला परेकी छिन् ।   

मृत फेला परेकी महिला धनकुटा नगरपालिका–९ स्थित विश्रान्ति वृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेको प्रहरीले जनाएको छ । लामिछाने फाल्गुन २९ गते दिउँसो वृद्ध आश्रम देखि हराई बेपत्ता भएकोमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आज बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो ।

मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्य थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।