चतरा : नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने नगर्ने जिम्मेवारी स्थानीय तहकै हुने बताएका छन्। स्थानीय तहमा गठबन्धन गर्ने निर्णय स्थानीय तहकै नेताहरूले आवश्यकता महसुस गरे मात्र गठबन्धन गर्ने जिकिर गरे। उनले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनकालागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।
सुनसरीको रामधुनी नगरपालिका-४ स्थित रामधुनी मन्दिर परिसरमा मङगलबार नेपाल सांस्कृतिक सङ्घ सुनसरी क्षेत्र नम्बर ४ ले आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा भए पनि अब एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे। पार्टी भित्रै गुटगत राजनीतिक हाबी भएको खण्डमा आउने स्थानीय तहको निर्वाचनमा ठुलो क्षतिको सामना गर्नुपर्ने भएकाले त्यस तर्फ सचेत भएर अगाडि बढ्नका लागि नेता तथा कार्यकर्तालाई उपसभापति गुरुङले आग्रह गरे। 
स्थानीय तहको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा बहुमत दिलाउने गरी लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले निर्वाचनमा टिकटका लागि राजधानी धाउने कार्य तत्काल बन्द गरेर मतदाताको मन जित्ने गरी लाग्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सह-महामन्त्री जीवन परियार, केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ताहिर मियाँ, नवोदिता चौधरी, सुनसरी तरुण दलका संस्थापक सभापति जीवन विष्ट, पूर्व जिल्ला सदस्य कालुराम चौधरी, इनरुवाका मेयर तथा पार्टी सभापति राजन मेहता, पूर्व महाधिवेशन प्रतिनिधित्व डिल्ली कार्की वराहक्षेत्रका पूर्व पार्टी उपसभापति नवराज बस्नेतले शुभकामना मन्तव्य राखेका थिए।