धरान : स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा दोस्रो चरणको खेल बुधवार देखि सुरु भएको छ । 

बुधवार धरान रङ्गशालामा ११ नं. वडा र १८ नं. वडाको बिच भएको खेलमा जित हासिल गर्दै ११ नं. वडाले ३ अङ्क जोड्न सफल भएको छ । दुवै टोलीमा ए डिभिजन खेलेका खेलाडीहरू रहेका छन् । 

बुधवार ११ नं. वडाको तर्फबाट ए डिभिजन खेलेका खेलाडीहरू हेमन्त थापा मगर, सुवाइ राई र गजुरमान राईले खेलेका थिए । त्यस्तै १८ नं. वडाबाट ए डिभिजन खेलेका खेलाडीहरू निश्चल गिरी, मनिष थापा मगर र सुशील राईले खेलेका थिए ।

धरान–११ ले १८ लाई २–० ले पराजित गरेको छ । ११ नं. वडाकालागी दुवै गोल टिम क्याप्टेन हेमन्त थापा मगरले गरेका हुन् । उनले खेलको ४२ औँ र ७० औँ मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भएका थिए । उनलाई नगद रु २५ सय पुरस्कार प्रदान गरिएको थियो । ११ नं. वडा पहिलो खेलमा १५ नं. वडासँग ३–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेल जित्दै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको ११ नं. वडाले सेमिफाइनल यात्राको आशा कायमै राखेको छ ।  ११ नं. वडाले अन्तिम खेलमा १४ नं. वडालाई पराजित गरे सेमिफाइनलमा पुग्ने सम्भावना प्रबल रहन्छ ।

बिहीबार वडा नं. १६ र १९ बिच धरान रङ्गशालामा ४ बजे खेल सुरु हुने आयोजकले जनाएको छ । गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी प्रतियोगितामा ८ टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ । समूह विजेता र उपविजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजेता टिमहरूले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछन् । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Talika