इटहरी : सुनसरीको इटहरी पश्चिम लाइनमा रहेको एपेक्स हस्पिटलमा एक बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । डाक्टरको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् । 

इटहरी २ तरहराका ३ वर्षीय सन्देश शाहको उपचारको क्रममा बुधवार राती निधन भएको हो । मृतक बालकका आफन्तहरूले अस्पताल तोडफोड गर्नुका साथै आन्दोलन जारी राखेका छन् । बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रिएका उनीहरूले डाक्टर र नर्सलाई कारबाही हुनुपर्ने माग राखेका छन् । 

दिउँसो सामान्य वान्ता भएपछि बालकलाई उपचारको लागी अस्पताल पुर्‍याइएको बालककी फुपू वविता शाहले बताइन् । उनका अनुसार डाक्टरले एकै पटक ६ वटा सम्म सुई लगाएका कारण बालकले थेग्न नसकेर मृत्यु भएको हो । साँझसम्म खेलिरहेको बालक एक्कासि छटपटाएपछि प्राण गएको उनले सुनाइन् । 

उता अस्पताल प्रशासनले भने बालकको गम्भीर रोगमा परेको हुनसक्ने बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नमिल्ने उनीहरूले बताएका छन् ।