धरान : झापाको बिर्तामोडमा आयोजित प्रदेश १ स्तरीय ओपन थ्री वाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि महिला तर्फ धरान मेघा हिमालयन कलेज र पुरुष तर्फ हाम्रो कलेक्सनले जितेका छन् । 

बिर्तामोड ५ न. वडा खेलकुद समिति द्वारा बुधवार आयोजित एक दिने प्रतियोगिताको महिला पुरुष दुवै उपाधि माथि धरानको टिमले कब्जा जमाएको हो ।

महिला तर्फको खेलमा धरान मेघा हिमालयनले बिर्तामोड महिला टिमलाई ९–६ र हाम्रो कलेक्सनले तरहरालाई २१–१९ अङ्कको अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएका हुन । महिला तर्फको विजेता टिमले नगद पाँच हजार, उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

यसै गरी पुरुष तर्फका विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूलाई ५ नं वडा खेलकुद समिति अध्यक्ष विशाल धिमाल, झापा बास्केटबल सङ्घका अध्यक्ष प्रकाश लिङदेन, बास्केटबलका राष्ट्रिय टिम क्याप्टेन सदिस प्रधान, नेपाल बास्केटबल लिगका संयोजक नमित थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।  

त्यस्तै गरी प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फ धरान मेघा हिमालयन कलेजकी डा. आशा राई र पुरुष तर्फ हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनीहरूले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । नेपाल बास्केटबल लिग एनविएलको समेत सहयोग रहेको प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १२ टिमले सहभागिता जनाएका थिए ।