इटहरी : इटहरी उपमहानगरपालिकाद्वारा निर्माण गरिने थारुकल्याणकारिणीसभा इटहरीको सभा भवनको इटहरी ५ मा शिलान्यास गरिएको छ । 

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका हुन् । उनले आफ्ना स्वर्गीय पिता नाथुराम चौधरीको स्मृतिमा भवन निर्माणका लागि आफ्नो तर्फबाट एक लाख रुपियाँको चेक हस्तान्तरण गरे । यसै गरी भवनको एउटा कोठा निर्माण गरिदिने घोषणा पनि गरे ।

वडाध्यक्षहरू दीप नारायण चौधरी र रोहित कुमार चौधरीले पनि सभा भवनको एक एक वटा कोठा निर्माण गर्ने प्रतिबद्धता जनाएको प्रमुख चौधरीले बताए । वडाध्यक्षहरूसँग समन्वय गरेर वडा स्तरीय बजेटबाट यो वर्ष १० लाख रुपियाँ सभा हल निर्माणका लागि छुटाइएको प्रमुख चौधरीले जानकारी दिए । वहुवर्षे योजना अन्तर्गत सभा हल निर्माण गरिने उनले बताए ।

थारु कल्याणकारिणीसभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरीले सभाको भवन निर्माणका लागि पहल गरिइदिनुभएकोमा इटहरी उपमहानगरपालिकाका प्रमुख चौधरीलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमलाई इटहरी वडा नम्बर ५ का वडाध्यक्ष कल्याण बहादुर कार्कीका साथै पूर्व वडाध्यक्ष वन्नुलाल चौधरी,थारु कल्याणकारिणीसभा इटहरीका पूर्व अध्यक्ष दुखी लाल चौधरी, सभाकी इटहरी उपाध्यक्ष सुशीला चौधरी, श्याम चौधरी र रामरोहन चौधरी लगायतले सम्बोधन गरेका थिए ।