धरान : रङ्गहरूको पर्व होली पर्व मर्यादित र सौहर्दपुर्णरुपमा मनाउन इलाका प्रहरी कार्यालय धरानले आग्रह गरेको छ । 

अझै पनि कोरोना महामारी कायमै रहेकोले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आपसी सदभाव कायम गरेर होली पर्व मनाउन सबैमा आग्रह गर्दै इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले प्रचलित कानुनका प्रावधान विपरीत कार्य नगर्न भनेका छन् ।

कपुरी न्युजसँग कुरा गर्दै डिएसपी कुँवरले रङ्गको नाममा इनामेल, आधुनिकताको नाममा इनामेल लगायतले अनुहारमा नचिनिनेगरी पेन्टीङ गर्ने, समाजमा खलल पुर्याउने खालका गतिविधि गर्न र गितार, झोलामा हातहतियार बोक्न सख्त मनाही गरिएको छ । 

धरानमा केही सङ्घ संस्थाहरूले होली विशेष कार्यक्रम गर्न प्रहरीलाई अनुरोध गरेको बताउँदै होली पर्व मनाउने निहुँमा कसैको इच्छा विपरीत रङ दल्ने लोला हानेर सदभाब नबिगार्न आग्रह गरिएको छ  ।

प्रतिबन्धित चिज बस्तु गाँजा ,लागुऔषध, भाङ ,धतुरो लागु पदार्थ एव  मदिरा सेवन गरेको पाइएमा, सवारी साधन चलाउँदा नियम विपरीत भड्किलो तरिकाले नचलाउन, मोटरसाइकलमा ३ जना चढेको पाइएमा र हेलमेट अनिवार्य प्रयोग गरेको नपाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रहरीले बताएको छ । 

होलीमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी धरानमा मात्रै १ सय ५० बढी प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरी परिचालनसँगै सुरक्षा अवस्था पनि आज कडा हुने बताइएको छ ।