धरान : स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको १३ नं. वडाले दुवै खेल जितेपछि ६ अङ्क सहित तालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनलको यात्रा पक्का गरेको छ ।

शनिवार धरान रङ्गशालामा भएको खेलमा धरान–८ लाई १–० गोल अन्तरले पराजित गर्दै १३ नं. वडाले सेमिफाइनलको यात्रा पक्का गरेको हो । शनिवार भएको खेलमा धरान–१३ का विवेक राईले दोस्रो हाफको ४ मिनेटमा गोल गरी टिमलाई जित दिलाएका थिए । शनिवारको खेलको म्यान अफ द म्याच १३ नं.वडाका सविन राई घोषित हुँदै नगद रु २५ सय पुरस्कार प्राप्त गरेका थिए ।

लिग कम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा गोधुली रनिङ कप फुटबलका उत्कृष्ट आठ टिम सहभागी छन् । ८ टिमलाई दुई समूहमा विभाजन गरी भइरहेको लिगमा समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । १३ नं. वडाले ८ नं. र १६ नं. वडालाई पराजित गर्दै समूहको शीर्ष स्थानमा छ । अब हुने अन्तिम खेलमा पराजित भए पनि ८ नं. वडा कम्तीमा उपविजेता हुनेछ । समूह बी मा रहेको १३ नं. ६ अङ्कका साथ शीर्ष स्थानमा छ भने ३ अङ्कका साथ ८ नं. दोस्रो स्थानमा छ । त्यस्तै १–१ अङ्कका साथ १६ र १९ नं. वडा तेस्रो र चौथो स्थानमा छन् ।

शनिवारको खेल सम्पन्न भएसँगै दोस्रो चरणको लिग खेल पनि सकिएको छ । आइतबार समूह ए को अन्तिम लिग खेल हुँदै छ । धरान रङ्गशालामा हुने पहिलो खेलमा दिउसो २ बजे १४ नं. वडा र ११ नं. वडा भिड्नेछन् भने दोस्रो खेलमा दिउसो ४ बजे १५ र १८ भिड्नेछन् । समूह ए मा १५ नं. वडा ६ अङ्कका साथ समूहको शीर्ष स्थानमा छ । उसले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । ३ अङ्कका साथ १४ नं. वडा दोस्रो स्थानमा छ भने समान ३ अङ्क भए पनि गोल अन्तरका आधारमा ११ नं. वडा तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित १८ नं. वडा चौथो स्थानमा छ । 

फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछ । प्रतिगोयताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Point-Teabal