सुनसरी : राष्ट्रिय खेलाडीहरूको दबदबा रहेको टाइम्स क्लब काठमाडौँ छैटौँ हराईजन राष्ट्रिय बास्केटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान स्थित हराइजन क्लबको कोर्टमा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा बिर्तामोड बास्केटबल क्लब झापालाई फराकिलो अन्तरले पराजित गर्दै टाइम्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
टाईम्स क्लबले बिर्तामोड बास्केटबल क्लबमाथि १३१-६८ को फराकिलो जित दर्ता गराएको हो । टाईम्स क्लबले प्रत्येक क्वाटर २८-३५-४४-२४ अङ्क जोड्दा बिर्तामोड क्लबले २४-१२-१५-१७ अङ्क मात्र जोड्न सफल भयो । आजको खेलको म्यान अफ द म्याच पराजित बिर्तामोड क्लबका अविशेकराज सिंह भए । उनले टिमका लागि २० स्कोर गरे । टाईम्स क्लबका विक्रम जोशीले खेलमा सर्वाधिक २४ स्कोर गरे । 
टाइम्स क्लबका ६ जना सदस्य राष्ट्रिय टिम सदस्य रहेका थिए । राष्ट्रिय बास्केटबल टिमका क्याप्टेन सदिश प्रधान, विक्रम जोशी, विजय बुर्जा, मोबिन्द्र क्षेत्री र मनिष केसीको सहभागी भएको टाइम्स क्लबका सामु बिर्तामोड बास्केटबल क्लब प्रत्येक क्वाटरमा निरीह देखिएको थियो । 
आज सम्पन्न अन्तिम क्वाटर फाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पनि पुरा भएको छ । अब टाईम्स क्लबले सेमिफाइनल खेलमा विशाल मिलन केन्द्र काठमाण्डौसंग पर्सी बिहीबार सामना गर्नेछ । 
भोलि बुधवार हुने पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब, र रोयल्स बास्केटबल एकेडेमी काठमाडौँ बिच हुनेछ । चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस्तै, यो सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार पाउनेछन् भने उदीयमान खेलाडीले ५ हजार पाउनेछन्।