विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन् । लेटाङ घटनाका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले प्रहरी जवानको परिवारलाई न्याय दिने बताए ।

आइतबार लेटाङ-५ खेरुवामा रहेको शिक्षा विकास माविका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विरोधमा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । मन्त्री कार्कीले समाजलाई आक्रोशित र आतङ्कित बनाउने तत्त्वहरूले सरकारलाई गम्भीर बनाएको बताए ।

हिंसा भड्काउने, हिंसा बढाउने, हिंसा बढाउन उकास्ने जो कोही पनि कानुनी दायरामा आउँछन् । मन्त्री कार्कीले भने, अनुसन्धानको क्रम जारी छ सफल अनुसन्धान हामी गछौं ।’

मन्त्री कार्कीले घटनामा घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । मङ्गलवार कोसी तथा नोबेल अस्पतालमा पुगेर घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । बिरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै मन्त्री कार्कीले घाइतेको उपचारमा सम्बन्धमा विशेष ख्याल गर्न आग्रह समेत गरे ।