धरान : प्रदेश नंं. १ को मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । 

बुधवार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्तुत गरेको वि.सं.२०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदा सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकले भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसका दिन प्रदेश नं. १ मा सार्वजनिक बिदा दिइने निर्णय स्वीकृत गरेको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेश सरकारलाई थप ६ वटा बिदा दिन पाउने अधिकार भए बमोजिम उक्त बिदा दिइने निर्णय गरिएको मन्त्री घिमिरेले बताए । त्यस्तै, सोही मन्त्रालयले प्रस्तुत गरेको आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यस्तो सहयोग असाध्य रोग लागेका बिरामीलाई उपचार खर्च बापत हुने मन्त्री घिमिरेले बताए ।

यसै गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि,२०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ । मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान(पहिलो संशोधन नियमावली, २०७८’ पनि स्वीकृत गरेको छ ।

त्यसै गरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन पनि बैठकले स्वीकृत गरेको छ । सोही मन्त्रालयले प्रस्तुत गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिए ।