विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग आज नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरविच द्विपक्षीय हितका बारे भेटवार्ता भएको छ । 

राजदूत भोन क्याप्लरको मुख्यमन्त्री राईसँग यो दोस्रो भेट हो । यसअघि उहाँहरूबिच पुस १ गते भेटघाट भएको थियो । आजको भेटघाटमा राजदूत भोन क्याप्लरले पहिलेकै भेटघाटको निरन्तरताको रूपमा स्विस सहायतामा सञ्चालनमा भएका परियोजनाका बारे थप छलफल र समीक्षा गर्न चाहेको उल्लेख गरे ।

यही बिचमा प्रदेश नं. १ सरकारले स्विस परियोजना अन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना स्वीकृत गरेकोमा राजदूत क्याप्लरले खुसी व्यक्त गरे । विकास साझेदारहरूमध्ये आफूहरू सम्भवतः प्रदेश सरकारसँग धेरै प्रगाढ र नजिकको सम्बन्धमा रहेर साझेदारीमा काम गर्न पाएकोमा उनले थप प्रसन्नता व्यक्त गरेका हुन् । 

राजदूत क्याप्लरले प्रदेश नं. १ मा लगभग २ अर्ब बराबरको सहयोग कार्यक्रम सञ्चालन भएको बताउँदै ती कार्यक्रमबारे प्रदेश सरकारको पृष्ठपोषणको अपेक्षा रहेको उल्लेख गर्नुभयो । 

भेटघाटका अवसरमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्विस परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको मसिनो ढङ्गले अध्ययन गरी नसके पनि यो परियोजना प्रदेश १ का लागि मात्रै वैदेशिक सहयोगको कार्यक्रम भएको बताए । उनले सहयोग र सहकार्य निरन्तर हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले सङ्घीय प्रणाली लागू भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सरकारलाई अझ पनि अनुभवको कमी रहेको बताए । उनले जनताको अपेक्षा अनुसार पर्याप्त बजेट अभाव अहिले चुनौतीको रूपमा रहेको बताए ।