धरान : स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरान ११ फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार धरान रङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा १३ नम्बर वडालाई टाइब्रेकरमा पराजित गर्दै ११ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि थप समयमा पनि खेलमा हार जितको निर्णय नभए पछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । 

टाइब्रेकरमा १३ नम्बर वडालाई ५–४ गोल अन्तरले पराजित गर्दै ११ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो । फाइनलमा ११ नम्बर वडाले १५ नम्बर वडासँग शनिवार खेल्नेछ । 

यस अघि १९ नम्बर वडालाई सेमिफाइनलमा १५ नम्बर वडाले टाइब्रेकरमा नै पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । खेलमा अग्रता भने १३ नम्बर वडाले लिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा नै १३ नम्बर वडाका मनोज राईले गोल गरी १३ नम्बर वडालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको २६ औँ मिनेटमा ११ नम्बर वडाका हेमन्त थापा मगरले गोल गरी खेल बराबरीमा ल्याएका थिए । उनले गोल गरेसँगै प्रतियोगिताको उच्च गोलकर्ता १५ नम्बर वडाका मदन लाबुङसँग गोल बराबर गरेका छन् । हेमन्त थापा मगरले ४ गोल गरेका छन् भने उनीसँगै १५ नम्बर वडाका मदन लाबुङले पनि ४ गोल गरेका छन् ।

टाइब्रेकरमा ११ नम्बर वडाका लागी वर्तमान राई, रिवस मास्के, दावा शेर्पा, सुवल राई र हेमन्त थापा मगरले गोल गरे । १३ नम्बर वडाका दोर्जे तामाङ, मिलन राई, अशोक कटुवाल र मनोज राईले गोल गरे भने टिम क्याप्टेन निश्चल श्रेष्ठको प्रहार विपक्षी गोल किपर प्रदीप जिमीले रोकिदिएका थिए । जिमी खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

शनिवार दिउसो ३ बजेदेखि फाइनल खेल सुरु हुने प्रतियोगिता व्यवस्थापक धरान भेट्रान्स फुटबल क्लबले जानकारी दिएको छ । गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी प्रतियोगितामा ८ टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ । समूह विजेता र उपविजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजेता टिमहरूले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछ । प्रतिगोयताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।