झापा :  झापाको दमक नगरपालिकालाई राजनीतिक वृत्तमा निक्कै चासोका साथ हेर्ने गरिएको छ । 

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर भएका कारण पनि दमक नगरपालिका राष्ट्रिय राजनीतिमा पनि चर्चामै रहने गरेको छ । 

आसन्न वैशाख ३० को स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेका बेला यति बेला दमकमा पनि विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनावी गतिविधिलाई निरन्तरता दिइरहेका छन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनबाट दमक नगरपालिकाको मेयर र उपमेयर दुवै पद एमालेको पोल्टामा गएको थियो । एमालेबाट रोमनाथ ओली र उपमेयरमा गीता अधिकारी विजयी भएका थिए । वडाहरूमा पनि एमालेकै वर्चस्व बन्यो भने काँग्रेस यहाँ ७४ को निर्वाचनमा क्लिन स्विप भयो । 

विगतको नतिजा हेर्दा एमालेलाई यस पटक कठिन

यस पटक राष्ट्रिय राजनीतिले कोल्टे फेरेसँगै दमकमा एमालेलाई आफ्नो पुरानो साख जोगाउन गाह्रो हुने आङ्कलन हुन थालेको छ ।  २०७४ सालमा विभिन्न उम्मेदवारले प्राप्त मतको आधारमा हेर्ने हो भने केन्द्र सरकारमा सत्ता गठबन्धनमा रहेका दलहरूबिच चुनावी तालमेल भए एमाले एक्लैलाई दमकमा पनि कठिन अवस्था सिर्जना हुन सक्ने देखिन्छ । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकको मेयर पदका लागि १५ जना चुनावी मैदानमा उत्रिएका थिए । जसमा ८ जनाले स्वतन्त्रका तर्फबाट चुनाव लडे भने ७ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थिए । मेयरमा निर्वाचित एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६ सय ५५ मत प्राप्त गरेका थिए । 

तेस्रो बनेका माओवादीका रेबतराज पुरी गगनले ६ हजार ८ सय ९८ मत प्राप्त गरेका थिए । नेपाली काँग्रेसका उम्मेदवार ढुण्डिराज भण्डारीले ५ हजार ५ सय ३९ मत प्राप्त गरेका थिए । अन्य उम्मेद्वारहरुले २ सय भन्दा कम मत प्राप्त गरेका थिए । 

एमालेले यसरी पनि साख जोगाउन सक्ने

२०७४ सालको निर्वाचनमा एमालेले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने एमालेका मेयर पदका उम्मेदवारलाई प्राप्त मत १० हजार ८ सय ६ हो । तर, यस बिचमा नेकपा एमालेमा विभाजन आएका कारण यो मत सङ्ख्या घट्ने अनुमान निश्चित छ । 

अझ, केन्द्रबाटै चुनावी तालमेलमा सत्ता गठबन्धन लागे भने एमाले विभाजन अघिको मेयरलाई प्राप्त मत हेर्दा र माओवादी र काँग्रेसले मात्रै प्राप्त गरेको मत हेर्दा १२ हजार ४ सय ३७ मत हुन जान्छ । यस बिचमा मतदाताको सङ्ख्या भने हेरफेर भएको छ । 

तर, दुई वा दुई भन्दा बढी राजनीतिक दल मिलेर निर्वाचनमा होमिए भने एमालेलाई अप्ठ्यारो पार्न सक्ने देखिन्छ । तर, राजनीतिमा चतुर खेलाडीका रूपमा चिनिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृह नगरमा यो अवस्था सृजना हुन नदिने कतिपयको तर्क छ । त्यसका लागि यदि एमाले र राप्रपा मिले भने अरू सबै दल मिले पनि चुनावी नतिजा फरक आउने देखिन्छ । 

राप्रपा एक्लैको ७४ सालमा ७ हजार ६ सय ५५ मत थियो । यद्यपि राप्रपा पनि अहिले दुई टुक्रामा विभाजित भइसकेको छ ।