इटहरी : नेकपा एमालेमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनता एमालेलाई पर्खेर बसिरहेको बताएका छन् । सुनसरीको इटहरीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई मात्र जनताले विश्वास गर्ने बताएका हुन । 
इतिहासमा कुन पार्टीले के कति राष्ट्रघात गर्‍यो त्यो प्रष्ट भएको भन्दै उनले अब नाकाबन्दीको मुकाबिला गर्ने पार्टीलाई जनताले विश्वास गर्ने बताए । जनकपुर चुरोट कारखाना, भृकुटी कागज कारखाना देखी इलामको चिया कारखाना कसले बेच्यो जनतालाई थाहा भएको उनको भनाई छ । 
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भारतले लगाएको नाकाबन्दीको सामना गरिएको उनले स्मरण गराए । ओलीकै अडानको कारण भारतसँग प्रधानमन्त्री ओलीले आँखामा आँखा जुधाउँदै नाकाबन्दी सामना गरेको सुनाए । अधिकतम समय ओलीको प्रशंसामा बिताएका उनले ओलीको अडानले सबैको शिर ठाडो भएको उल्लेख गरे। 
एमालेकै कारण राज्यका सबै क्षेत्रमा ३३ प्रतिशत महिला पुर्याउने व्यवस्था भएको उपाध्यक्ष नेम्वाङले प्रष्ट पारे । प्रधानन्यायाधीश देखी राष्ट्रपति महिला बनाउने पार्टी पनि एमाले नै भएको र स्थानीय तहमा अनिवार्य महिलाको व्यवस्था गर्ने श्रेय एमालेलाई जाने उनको दाबी छ । 
ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्सा पारित भएकाले ओलीको पार्टीलाई भोट हाल्न जनताले पर्खिएको घोषणा गरे । तत्कालीन अवस्थामा संसद् विघटन आवश्यक रहेको बताउँदै उनले ओली नेतृत्वको सरकारले धेरै काम भए पनि पार्टीका नेताहरूको कारण समस्या भएको आरोप लगाए ।  
झलनाथ खनाल प्रति इङ्गित गर्दै उनले झुट र गलत प्रचारमा फुटेर गएका साथीहरू लागेको बताए । "सानै देखी सँगै पढेको साथी जस्तो याद आउँछ । अनुहार झलझली याद आउँछ । तर नाम ठ्याक्कै बिर्सिएँ । वहाले भनेको कुरा सम्झिन्छु । केपी ओलीले बनाएको धरहरा ? हैन । त्यो त कालीगढले इन्जिनियरले बनाएको हो भन्नुभयो ।," खनाल प्रति व्यङ्ग्य गर्दै उनले भने, “हो यही स्थितिले पार्टी विभाजन भएको हो । त्यो बेला ओलीले विघटन गरेर जनादेशमा जाने निर्णय गर्नुभएको हो । केही साथीहरूलाई पद नभई भएन । अब हामी झनै दह्रो भएका छौ । टोल देखी केन्द्र सम्म पार्टी एक ढिक्का भएको छ ।”