धरान : छैटौँ हराईजन राष्ट्रिय बास्केटवलको उपाधि काठमाण्डौको टाइम्स क्लबले जितेको छ । 

धरानमा आज सम्पन्न फाइनल खेलमा टाइम्स बास्केटबल क्लब ले विभागीय टिम त्रिभुवन आर्मी माथि ८१ का विरुद्ध ७८ स्कोरको जित दर्ता गर्दै टाइम्सले उपाधि जितेको हो । उपाधिसँगै टाइम्सले नगद १ लाख ११ हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको आर्मी क्लबले ५५ हजारमा चित्त बुझाएको छ । टाइम्सले प्रत्येक क्वाटरमा १९–१८–१८–२६ स्कोर बनाएको थियो । यस्तै आर्मीले २५–१४–२२–१७ स्कोर बनाएको थियो । 

फाइनल खेलको म्यान अफ द म्याच आर्मीका विनोद महर्जन भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी टाइम्सका सदिश प्रधान घोषित भए । उनी राष्ट्रिय टिमका क्याप्टेन समेत हुन । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै उदयमान खेलाडी ब्रदर्श क्लब धरानका कबिन मगर भए । उनले नगद ५ हजार पुरस्कार पाए । 

उद्घाटन खेलमा आयोजक हराइजन क्लब धरानलाई ८६–१३१ स्कोरले पराजित गरेको आर्मीले सेमिफाइनलमा काठमाण्डौको रोयल्स बास्केटबल क्लबलाई ७९ का विरुद्ध ९२ स्कोरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।

अन्तिम क्वाटर फाइनल खेलमा बिर्तामोड बास्केटबल क्लब झापालाई १३१–६८ को फराकिलो जित निकालेको टाइम्स क्लबले सेमिफाइनलमा काठमाण्डौकै विशाल मिलन केन्द्र विरुद्ध १२३–१०१ को जित निकाल्दै आर्मीसँगको फाइनल भेट पक्का गरेको हो । दुवै टिममा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेकाले फाइनल भिडन्त रोमाञ्चक बनेको थियो ।

राष्ट्रिय खेलाडीहरूको दबदबा रहेको टाइम्स क्लबका ६ जना सदस्य राष्ट्रिय टिम सदस्य रहेका छन् । राष्ट्रिय बास्केटबल टिमका क्याप्टेन सदिश प्रधान, विक्रम जोशी, विजय बुर्जा, मोबिन्द्र क्षेत्री र मनिष केसी राष्ट्रिय टिमबाट सदस्य हुन उनीहरू सबै टाइम्स क्लबबाट खेल्दै आएका छन् ।

गत वर्षको विजेता समेत रहेको आर्मीमा आबद्ध आयुश सिंह, सौरभ श्रेष्ठ, रामकृष्ण तानी, विनोद महर्जन, आशिस बस्नेत, निश्चल महर्जन र अजय कुशवाह राष्ट्रिय टिमका सदस्य हुन । चैत्र ५ गते देखी भएको प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको थियो । चैत्र ५ गते देखी भएको प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको थियो । 

हराइजन पत्रकारिता पुरस्कारबाट पत्रकार अर्जुन सुबेदी पुरस्कृत

हराइजन पत्रकारिता पुरस्कारबाट यो वर्ष कान्तिपुर टेलिभिजनका पत्रकार अर्जुन सुबेदी पुरस्कृत भएका छन् । 

छैटौँ हराइजन बास्केटबल प्रतियोगिताको समाचार सम्प्रेषण गरेको भन्दै उनलाई नगद ५ हजार सहित प्रशंसा पत्रले हराइजन क्लबका अध्यक्ष वसन्त राईले पुरस्कृत गरेका हुन् ।

Arjun-Subedi