धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य बिमाबाट दिइने सेवा स्थगन गर्ने विषयमा स्थानीय सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छ । 

पूर्वकै ठुलो स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले केही दिन अघि मात्रै एक सूचना जारी गरी सरकारले बिमा बापतको रकम भुक्तानी नगरेको भन्दै बिमाबाट दिइने सेवा स्थगन गर्ने जानकारी दिएको थियो ।

यसबारेमा धरानका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरीका एसपी विक्रम होमागाई लगायतले प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.विकास साह, अस्पताल प्रशासनका कर्मचारी अशोककुमार साह लगायत अधिकारीहरूसँग शुक्रवार छलफल गरेको छ । छलफलमा स्थानीय सरकार र स्थानीय प्रशासनले बिमा सेवा रोक्ने निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य बिमा कार्यक्रम निरन्तर सञ्चालन गन प्रतिष्ठान प्रशासनलाई आग्रह गरेको मेयर तिलक राईले जानकारी दिए । 

प्रतिष्ठानमा भएको छलफल पछि धरान उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राई र सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सरकारले जनतालाई स्वास्थ्यमा दिने सेवा स्वास्थ्य बिमाको सेवा रोक्न नहुने बताउँदै नागरिकको मौलिक हकलाई कुण्ठित गर्नुहुँदैन । स्वास्थ्य बिमाबाट पाउने सेवा प्रतिष्ठानलाई नरोक्न आफूहरूले आग्रह गरेको बताए । 

मेयर तिलक राईका अनुसार बिमा बोर्डले चैत ७ गते नै ३ करोड ५७ लाख रकम प्रतिष्ठानको खातामा जम्मा गरिसकेको छ भने यसै साता थप ६,७ करोड रकम पनि भुक्तानी गर्ने जानकारी दिएको छ । त्यसैले प्रतिष्ठानलाई बिमा सेवा नरोक्न आग्रह गरिएको मेयर राईले बताए । उनले भने चैत १५ गतेपछि सेवा नरोकिने बताए । 

प्रतिष्ठानको सुधारका लागि सबै लाग्नु पर्ने बताउँदै मेयर राईले प्रतिष्ठानको शव गृहका शव राख्ने कोल्ड स्टोर राम्ररी नचल्ने भएको गुनासो आएकोले त्यसको सुधारका लागि धरान उपमहानगरपालिकाले टेन्डर समेत आव्हान गर्ने छ । यसै गरी शव गृहमा शौचालय पनि निर्माण गरिने तयारी भएको उनले बताए । 

BP-Nirnaya-1BP-Nirnaya-2