धरान : नेकपा माओवादी केन्द्र धरान उपमहानगरले दोस्रो पूर्ण बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू शुक्रवार सार्वजनिक गरेको छ । 

सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीको सभा हलमा आयोजित कार्यक्रम पछिको पत्रकार सम्मेलनमा धरानमा पछिल्लो समय चरम खानेपानीको अभाव भइरहेको बेलामा पनि धरान उपमहानगरपालिकाका मेयर उपमेयरले यस विषयमा केही गर्न नसकेको भन्दै उनीहरूले राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिले माग गरेको छ । 

यस भन्दा अघि धरानको खानेपानी नेपाल खानेपानी संस्थानद्वारा सञ्चालनमा रहेको थियो । तर पछिल्लो समय धरानको खानेपानी समस्यालाई समाधान गर्नका लागि भनेर धरानका मेयर तिलक राईको नेतृत्वमा खानेपानी व्यवस्थापन बोर्डबाट सञ्चालन भए पनि खानेपानी समस्या झन् बढेर गएको भन्दै मेयर र उपमेयरको नेतृत्व गैर जिम्मेवार भएकोले धराने जनतालाई पानी खुवाउन असफल भएको भन्दै माओवादी केन्द्रले बोर्ड नेतृत्वबाट मेयर र उपमेयरले राजीनामा दिन माग गरेको हो । खानेपानी व्यवस्थापन बोर्डलाई व्यवस्थित बनाउन सुनसरी उद्योग वाणिज्य सङ्घलाई नेतृत्व दिन पनि माओवादी केन्द्रले माग गरेको छ ।

माओवादी केन्द्र धरान उपमहानगरका अध्यक्ष सूर्यबहादुर भट्टराईले लामो समयदेखि मेयर, उपमेयरले खानेपानी बोर्डको नेतृत्व गरेको भए पनि विगतको भन्दा धरानमा खानेपानीको चरम अभाव खडकिएको बताए । माओवादी केन्द्रले बोर्ड नेतृत्व गरेका मेयर र उपमेयरले उल्टै आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्न व्यस्त भएको पनि पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा आरोप लगाएको छ। वडा नं १७ का अध्यक्षसमेत रहेका भट्टराईले आफूसहित बोर्डका केही सदस्यले चाडै राजीनामा दिने पनि बताए । विगत एक, डेढ वर्षदेखि बोर्डको अध्यक्ष रहेका मेयर तिलक राईले बैठकसमेत नराखेको र आफूहरू खानेपानी समस्या समाधान गर्न भूमिका विहीन अवस्थामा रहेकोले सदस्य बस्नुको कुनै औचित्य नभएको उनले बताए ।

यस्तै गरी पछिल्लो समय वीपी प्रतिष्ठानभित्र मौलाएको चरम अराजकता, भ्रष्टाचार र विकृतिको कारण धराशायी भएको भन्दै माओवादी केन्द्रले धरानको मेयर, उपमेयर दुवै सिनेट सदस्य हुँदा पनि यस्तो क्रियाकलाप नियन्त्रण गर्न भूमिका नखेलेको आरोप पनि लगाइएको छ । प्रतिष्ठानले सरकारबाट गरिएको स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेकोमा माओवादी केन्द्रले घोर आपत्ति व्यक्त गरेको छ ।

प्रतिष्ठानले जनताको सेवा बन्द गर्ने कार्य राजनीतिक प्रेरित भएको ठहर गर्दै माओवादी केन्द्रले सेवा निरन्तरता दिन र बिमा सेवाको रकम भुक्तानी गर्न पनि सम्बन्धित निकायलाई माग गरेको छ । 

सुकुम्वासीको बारेमा नेपाल सरकारबाट राष्ट्रिय भूमि आयोग गठन भई सकेको सन्दर्भमा धरान उपमहानगरपालिकाको नेतृत्वको ढिलासुस्तीका कारण समयमा नै आयोगसंस्सा सम्झौता हुन नसकी, भूमिहीन, दलित, अव्यवस्थित सुकुम्वासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने कार्य ढिलो भइरहेको प्रति पनि गम्भीर ध्यानाकर्षण भएको माओवादी केन्द्रले जनाएको छ । 

यसै गरी सार्वजनिक जग्गा संरक्षणको सवालमा हालै सर्दु खोलाको कालापानी र देवीथान क्षेत्रमा खोलाको बिच भागमा अतिक्रमण गरी घर टहरा बनेको र यसमा नगर सरकार रमिते भएको प्रति पनि पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । यसैको आडमा पुरानो बसोबास रहेको सुन्दरवस्ती लगायतका बस्तीहरूलाई नै उठाउन खोजेको प्रति समेत माओवादी केन्द्रको गम्भीर आपत्ति रहेको जनाएको छ कालापानी र देवीथान क्षेत्रमा भइरहेको अतिक्रमण रोक्न नगर सरकार समक्ष माग माग पनि गरिएको छ । 

नेकपा माओवादी केन्द्रले सर्दुजलाधार क्षेत्रमा फडानी, अतिक्रमण भई रहेको छ उक्त अतिक्रमण तत्काल रोक्न समेत माग गरेको छ । 

यसै गरी सरकारी कार्यालय तथा स्थानीय तहको कार्यालयहरूमा समेत ढिलासुस्ती तथा भ्रष्टाचारजन्य गतिविधिहरू नियन्त्रण नभएको हुँदा तत्काल नियन्त्रण गर्न माग गरिएको छ ।