धरान : धरानमा शुक्रवार देखि पूर्वको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ इष्ट टुरिजम मार्ट सुरु भएको छ । 

मार्टको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरे । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरान–१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा सुरु भएको मार्ट ३ दिन सम्म सञ्चालन हुने इष्ट टुरिजम मार्टका प्रवक्ता पर्यटन व्यवसायी वासुदेव बरालले बताए । 

मार्टमा छिमेकी मुलुक भारतको विहार, बंगाल, सिक्किम र भुटानका पर्यटन व्यवसायी को सहभागिता रहेको छ । ३ दिन सम्म सञ्चालन हुने मार्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ मा पर्यटनको प्रश्वस्त सम्भावनाहरू छन्, तर अरू ठाउँले जस्तो प्रवर्द्धन गर्न नसकेको बताए । अवको युगमा पर्यटनको युग हो । त्यसैले अव मान्छे मनोरन्जन चाहन्छ, हेर्न र घुम्न चाहन्छ यसले गर्दा अव पर्यटनको सम्भावना बढ्दै गएको बताए । 

कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीप भण्डारीले इष्ट टुरिजम मार्ट कार्यक्रमले पूर्वको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । प्रदेश १ का पर्यटन तथा सांस्कृतिक मन्त्री खिनु लङ्वा लिम्बु, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, पर्यटन बोर्डका सदस्य कृष्ण शाह लगायतले बोलेका थिए । 

तीन दिन सम्म सञ्चालन हुने मार्टमा विभिन्न पर्यटन सम्बन्धीका स्टलहरू र विभिन्न खाद्य परिकारका स्टलहरू करिब १ सय स्टलहरू रहनेछन् । हरेक दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि हुने बताइएको छ । 

यस भन्दा अघि दुई पटक इष्ट टुरिजम मार्ट सफलतापूर्वक सम्पन्न भइसकेको छ । कोरोनाले थलिएर भर्खरै चलायमान समाज भइरहेको बेलामा धरानमा सुरु भएको इष्ट टुरिजम मार्टले पूर्वको पर्यटन व्यवसायलाई चलायमान बनाउने विश्वास पूर्वका पर्यटन व्यावसायीहरुले लिएका छन् ।