विराटनगर : नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले स्थापना गरेको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि ५० हजार ५१ रुपैयाँ रहेको छ । सो पुरस्कारबाट यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजूलाई प्रदान गरिएको थियो । 

त्यसैगरि षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७८ कान्तिपुर दैनिकका मोरङ सम्वाददाता देवनारायण साहलाई प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशि १५ हजार १५ रहेको छ । सो पुरस्कारबाट यसअघि मोहन काजी, गणेश लम्साल र राजु श्रेष्ठ पुरस्कृत भइसकेका छन् । कार्यसमितिको आज विराटनगरमा बसेको सातौँ बैठकले दुवै पुरस्कारको निर्णय गरेको महासङ्घका अध्यक्ष सञ्जीव खनालले बताए । 

नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा आगामी चैत १६ गते विराटनगरमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महासङ्घ मोरङका सचिव नेत्र पी अधिकारीले बताए । स्थापना दिवसको अवसरमा मोरङ शाखाले निर्माण गरेको वेभसाईडको पनि शुभारम्भ गरिने भएको छ । स्थापना दिवसको अवसरमा चैत १७ गते विराटनगरमा मोरङका सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको सचिव अधिकारीले बताए ।