चतरा : वराहक्षेत्र-२ चतरामा नेपाली काँग्रेसले स्त्री, चर्म र थेरापी सम्बन्धी एक दिवसीय स्वास्थ्य शिविर सम्पन्न गरेको छ। नेपाली काँग्रेस वराहक्षेत्र वडा नं १ र २ को आयोजना र सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ को संयोजनमा उक्त स्वास्थ्य शिविर आयोजना भएको थियो।
शनिवार बिपी आधारभूत विद्यालयको प्राङ्गणमा आयोजना भएको शिविर मा ११० जनाले स्त्री रोग सम्बन्धी, १५० जनाले छाला तथा चर्म रोग सम्बन्धी र ८५ जनाले थेरापी सम्बन्धी सेवा लिएको नेपाली काँग्रेसले जानकारी दिएको छ । 
ग्रामीण क्षेत्रका महिलाहरूलाई स्त्री सम्बन्धी रोगको न्यूनीकरण गर्ने, छाला र थेरापी रोगीलाई उपचार गराउने उद्देश्यले निःशुल्क  शिविर आयोजना गरिएको नेपाली काँग्रेस वराहक्षेत्र २ सभापति अमर कटुवालले बताए ।
रोगको उपचारसँगै जनचेतनाकालागि शिविर आयोजना गरिएको नेपाली काँग्रेस सुनसरी क्षेत्र १ प्रदेश सभा-२ सभापति मुरारीप्रसाद भट्टराईले बताए । ग्रामीण बस्तीका महिलाहरू यौन रोगबारे बताउन हिचकिचाउने र अस्पतालको पहुँचमा पुग्न समेत समस्या हुने गरेकाले शिविर को आयोजना गरिएको सभापति भट्टराईले बताए । 
शिविरमा बिपी स्वास्थ्य प्रतिष्ठान धरानका डाक्टरहरू मनोजकुमार साह, कमला आचार्य, मञ्जु विष्टले सेवा तथा परामर्श दिएका थिए । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षणसँगै औषधी समेत वितरण गरिएको थियो ।