धरान : धनकुटाको राजारानी फुटबल क्लबले पाँचौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

सुनसरीको वराहक्षेत्र-५ स्थित भरौल खेलमैदानमा शनिवार भएको उद्घाटन खेलमा कञ्चनजंगा फुटबल क्लब भारतलाई ४-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । राजारानीका लागि शिशिर लेखी र मनिष थापाले २–२ गोल गरे । लेखीले खेलको २७ औ र ३५ औ मिनेटमा गोल गरे । थापाले ३० औ र ४७ औ मिनेटमा गोल गरेका थिए । कञ्चनजंगाको लागि पूजन सुब्बाले ८२ औ मिनेटमा सान्त्वना गोल गरे । 

शनिवारको खेलको म्यान अफ द म्याच राजारानी क्लबका शिशिर लेखी घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए। भोलि आइतबारको खेल विन्दवासिनी फुटबल क्लब विराटनगर र रेडहर्ष क्लब इलाम बिच हुने आयोजकले जनाएको छ । 

न्यु स्टार फुटबल क्लब भरौलले आयोजना गरेको गोल्ड कप यसअघि दुई वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण हुन सकेको थिएन । प्रतियोगितामा दुई भारतीय क्लब सहित नेपालका ८ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए । 

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले नगद १० हजार पाउनेछन् । यस्तै प्रत्येक खेलको म्याच अफ द म्याचले नगद ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।